हरियाली सल्लेरी जङ्गल छेऊ सुन्दर पक्की भवन । फूलमालासहितका स्वागतार्थीले झैं यो भवनले नजिकैको दङ्गाल र गजुरेल टोल पुग्ने बाटो छेवैमा गाउँलेहरुलाई सधैं स्वागत गरिरहे जस्तो लाग्छ ।
३ माघको चिसो दिन, ढल्किँदो घाममा सिरसिर बतास पनि चलिरहेकै थियो, एउटा चिटिक्क परेको साढे दुईतले भवन परिसरमा गाउँलेहरु झुरुप्प थिए । त्यो झुरुप्प समूहमा एक जोडी चिकित्सक दम्पति, भवन ठड्याउने पौरखी/सहयोगी हातहरु, चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख, वडाध्यक्ष, गाउँका प्रौढ भद्र महिला–पुरुषहरु, सामाजिक अभियन्ता अनि शिक्षक एवं सामुदायिक सिकाइ केन्द्रका अगुवाहरु हुनुहुन्थ्यो । त्यो एक भव्य हस्तान्तरण समारोह थियो । माइकमा वक्ताको आवाज गुञ्जियो, ‘चुहिने जस्ता अनि माटोले टालटुल पारेको सामान्य वाचनालय अहिले मालिकादेवी सामुदायिक सिकाइ केन्द्र भइसकेको छ र यसले आज गजबको भवन पनि पाएको छ । अब नयाँ आश र विश्वास जाँगेको छ । यसमा हामी अति नै खुशी छौं ।’
सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–७ मैलचौरमा रहेको श्री मालिकादेवी सामुदायिक सिकाइ केन्द्रको साढे दुईतले भवन बनेको छ । सदरमुकाम चौतारा बजार नजिकै रहेको यो केन्द्र २०६७ सालमा स्थापना भएको थियो । अहिले भवन बनेपछि यहाँ अनौपचारिक र जीवनपर्यन्त सिकाइ सिक्न स्थानीय प्रौढहरु आतुर देखिएका छन् । त्यो आतुरता भवन हस्तान्तरणका दिन उनीहरुको आँखामै झल्कन्थ्यो ।
यस्तो आश जगाउने काम तीन पक्षीय संयोजनले सम्भव भएको छ । मेलचौरकै बुहारी अनि वीर अस्पतालकी सर्जन डा. अर्चना केसी दंगाल र उहाँको पति डा. विनोद दङ्गालले भवन बनाउने सपना देख्नुभयो । त्यो सपनालाई योजना र काममा परिणत गर्नुपर्ने थियो । त्यसका लागि भरपर्दाे संस्था वा सहयोगी हात चाहिन्थ्यो । संयोग पनि मिलिहाल्यो । सिन्धुपाल्चोक जिल्लामा डेढ दर्जन सामुदायिक विद्यालयहरुको नयाँ भवन बनाइदिएर, देशभरिका हजारौ विद्यार्थीलाई रातो झोला बाँडेर अनि साथी शिक्षक कार्यक्रम चलाएर शैक्षिक मियो बनिरहेको हेलम्बु एजुकेशन एण्ड लाइभ्लीहुड पार्टनरसिप (हेल्प)सँग समुदायको भेट भयो । यसका लागि आर्थिक जोहो र व्यवस्थापन मुख्य काम थियो । बेलायती नागरिक लुक एच टेलरले आफ्नो संस्था स्क्रिप्चर च्यारिटेबल ट्रष्टका तर्फबाट हेल्पमार्फत् नै आर्थिक सहयोग गर्ने वचन दिए । त्यसपछि सम्झौता भयो र हेल्पको अगुवाईमा लकडाउनका बेलामा पनि सामुदायिक सिकाइ केन्द्रको भवन निर्माण शुरु गरियो । ‘हामीले निकै नै छलफल गरेर भवन बनाउने निर्णय गर्यौं, नगरपालिकासँगको समन्वयमा काम थालियो,’ हेल्पका कार्यकारी निर्देशक जिमी लामा भन्नुहुन्छ ।
६ महिना लगाएर ५ कोठे भवन सम्पन्न भएको छ । ५५ लाख ७५ हजार रुपैयाँ लागतमा निर्माण गरिएको भवनमा वाचनालय, बैठक हल, सिकाइ कक्ष, शौचालय रहेका छन् । भवनभित्र चाहिने फर्निचर, पुस्तकालयका लागि र्याकलगायत पनि उपलब्ध गराइएको छ ।
भवन बनेपछि यसलाई नगर प्रमुख अमानसिं तामाङको प्रमुख आतिथ्यतामा हस्तान्तरण गरियो । समारोहमा भवनका परिकल्पनाकार डा. द्वय अर्चना र विनोद सम्मानित हुनुभयोे । त्यसो त, सिकाइ केन्द्रका अगुवाहरुलाई पनि दोसल्ला ओढाएर सम्मान गरियो । यस्तै, हेल्पका कार्यकारी निर्देशक लामा र उहाँको टिमलाई सिकाइ केन्द्रले सम्मान गर्यो । सिकाइ केन्द्र निर्माणमा आर्थिक सहयोग पुर्याएका लुक होवार्ड र उनकी पत्नी जेसिकासित समारोहमा अनलाइनमार्फत् प्रत्यक्ष कुराकानी गरिएको थियो ।
सामुदायिक सिकाइ केन्द्र भन्नेबित्तिकै अनौपचारिक सिकाइ र सीप हासिल गर्ने समुदायकै केन्द्रका रुपमा बुझिन्छ । प्रौढहरुलाई सिकाउने, जीवनपर्यन्त सिक्ने, सूचना र सञ्चारमा सक्रिय हुने, समुदायको आय–आर्जनसम्मका गतिविधिहरु सामुदायिक सिकाइ केन्द्रमा हुने गर्छन् । सूचना प्रविधिलाई आत्मसाथ गर्न भविष्यमा कम्प्यूटरको व्यवस्था गरेर आइसिटिमा पनि प्रौढहरुलाई पोख्त बनाउने योजना रहेको सिकाइ केन्द्रका अध्यक्ष पुण्य गजुरेलले सुनाउनुभयो । त्यसो त, कुनै न कुनै योजनाका फेहरिस्तहरु वक्ताहरुले सुनाउँदै जानुभयो । चौतारा साँगाचोकगढी वडा नं ७ का वडाध्यक्ष उमाप्रसाद दुलालले भन्नुभयो, ‘अब हामी यस केन्द्रमा लोक सेवाका लागि कक्षा चलाउनेछौं ।’
भवन त बन्यो, यसको संरक्षण गर्नु, यसलाई सुविधासम्पन्न बनाउनु अबको दायित्व ठानिएको छ । नगरप्रमुख अमानसिं तामाङले यसको संरक्षण नगरले गर्ने तर समुदायको सहयोग पनि उत्तिकै हुनु पर्छ भन्नुभयो । डा. अर्चनाले भविष्यमा सामुदायिक सिकाइ केन्द्रका लागि चाहिने सामग्रीहरुका निम्ति पनि आफूहरुको सहयोग रहने वचन दिनुभयो ।
मालिकादेवी सामुदायिक सिकाइ केन्द्रलाई सक्रिय बनाइरहन अरु ठाउँका अभ्यास र कामलाई पनि आत्मसाथ गर्नुपर्ने समारोहमा कुरा उठेको थियो । काठमाडौंको दक्षिणकालीस्थित शिखरापुर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष श्याम केसीले सिकाइ केन्द्रहरुबीच राम्रा अभ्यास आदानप्रदान गर्नुपर्ने सुझाउनुभयो ।
अक्षर नचिनेकाले चिनेर, चिनेकाले फर्रर पढेर अनि सीप नसिकेकाले सिकेर गद्गद् बन्ने कुनै ठाउँ छ भने त्यो सामुदायिक सिकाइ केन्द्र नै हो । जे होस्, स्थापनाको १० वर्षपछि भएपनि मालिकादेवी सामुदायिक केन्द्रले सुन्दर भवन पाएको छ । केन्द्रलाई भविष्यमा उपयोगी कतिको बनाउने भन्नेचाहिँ यहीको समुदायमा भर पर्छ । नगरप्रमुख अमानसिं तामाङको भनाइको तालमेल पनि यहीनेर मिल्छ । आगे मेलचौर निवासी समुदायकै मर्जी !
‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...
प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिव फेरिएका छन् । सचिव गोपीनाथ मैनालीको ठाउँमा युवा तथा खेलकुद मन्त्रालयबाट रामप्रसाद थपलियालाई ल्याइएको छ । ...
Comments