२०७७ मंसिर १९ गते / 4th Dec 2020, Friday
investment investment

दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले

दशैं सकिनासाथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका अधिकांश विद्यालयहरु खुलेका छन् ।


नगर शिक्षा समितिको यही ८ कात्तिकमा बसेको बैठकले गरेको निर्णयअनुसार विद्यार्थी सिकाइ सहजीकरण सम्बन्धमा नगरप्रमुख डम्बरबहादुर अर्यालले १६ गते विद्यालयहरुलाई कक्षा चलाउन पत्रचार गर्नुभएपछि अधिकांश स्कूलहरु खुलेका हुन् ।


मेलम्ची नगरपालिकामा जम्मा ६२ वटा सामुदायिक र १३ संस्थागत विद्यालयहरु छन् । प्रायः सबै विद्यालय खुलेको नगर शिक्षा अधिकृत सुदीनराज बुढाथोकीले जानकारी दिनुभयो । ‘एकाध स्कूल नखुलेका होलान्, ती पनि खुल्नेछन्,’ उहाँले भन्नुभयो । सार्वजनिक यातायात, बजारलगायत सबै खुला भएको स्थितिमा लामो समयसम्म विद्यालय नखुलाइरहन नसक्ने निष्कर्ष अनुसार नगरपालिकाले स्कूल खोल्ने निर्णय गरेको हो । संघीय सरकारले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिकाअनुसार अनलाइन, रेडियो, टेलिभिजनलगायतका माध्यमबाट प्रभावकारी सिकाइ नभएको स्थितिमा विद्यालय खोल्नैपर्ने निचोडमा नगरपालिका पुगेको हो । अभिभावकको माग पनि विद्यालय खोल्नुपर्ने भएकाले नगरपालिकाले १०–४ भरी नभई एक सिफ्टमा बढीमा ४ घण्टाका आधारमा कक्षा चलाउन पत्रचार गरेको छ । साथै, कक्षा १–५ सम्मका ५० भन्दा कम विद्यार्थी भएकाले एक सिफ्टमा र त्यसभन्दा बढी संख्या रहेकाले दुई सिफ्टमा कक्षा चलाउनुपर्ने नगरपालिकाको पत्रमा उल्लेख छ । यस्तै, कक्षा ८ सम्मको हकमा भने एक सिफ्टमा ७५ जनाभन्दा बढी विद्यार्थी हुन नहुने भनिएको छ ।


विद्यालयमा सिकाइ सहजीकरणका निम्ति विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, शिक्षक, कर्मचारीबीच बैठक र अभिभावक तथा विद्यार्थीसित अन्तर्क्रिया गरी कार्ययोजना बनाउनुपर्ने पनि नगरपालिकाको निर्णयमा उल्लेख छ ।


कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीब्र हुँदै गइरहेका बेला नगरपालिकाले भौतिक दूरी कायम गराउँदै स्वास्थ्य सुरक्षा सामग्री एवं सावधानीका साथ विद्यालय खुलाएको छ । ‘केहीगरी विद्यार्थीमा संक्रमणको केस देखियो भने तुरुन्त अर्काे रणनीति लिइनेछ,’ नगर शिक्षा अधिकृत बुढाथोकीले भन्नुभयो ।


सिकाइ सहजीकरणको अनुगमन र विद्यार्थी वा शिक्षकमा संक्रमण देखिहाले तत्काल निर्णय गर्न नगरपालिकाको वडा नं ५ सिन्धुकोटले वडाध्यक्ष सुदर्शन लुइटेलको संयोजकत्वमा ‘र्यापिड रेस्पोन्स टिम’ पनि खडा गरेको छ ।


नगरपालिकाले प्रतिविद्यार्थी २–२ वटा कपडाको मास्क उपलब्ध गराएको छ । बुढाथोकीका अनुसार मास्कमा दुई लियर (तह) रहेको छ । विद्यालयहरुलाई स्वास्थ्य सुरक्षाका निम्ति थर्मल गन पनि उपलब्ध गराइनेछ । नगरले विद्यालयहरुका निम्ति सिकाइ सहजीकरणमा स्वास्थ्य सुरक्षा सामग्री उपलब्धि गराउन करिव १५ लाख रुपैयाँ विनियोजन गरेको छ । यो बजेटबाट माध्यमिक तहका ठूला विद्यालयहरुलाई २० देखि ३० हजार रुपैयाँसम्म उपलब्ध गराइनेछ । प्राथमिक तहका साना विद्यालयले भने बुक कर्नरका लागि छुट्याइएको रकम खर्च गर्न सक्ने नगरले जनाएको छ । रकम अपुग भएमा तालिमका लागि छुट्याइएको रकमसमेत रकामान्तर गरेर छुट्याइने बुढाथोकीले बताउनुभयो ।


कक्षा चल्न थालेपछि नगरभित्रका माध्यमिक विद्यालयहरुले कक्षा ११ को परीक्षा पनि शुरु गरेका छन् । इन्द्रेश्वरी मावि मेलम्चीले २१ कात्तिकबाट परीक्षा शुरु गरेको छ । यस्तै, सिन्धुपुराना गाउँ मावि सिन्धुकोटले यही २३ कात्तिकबाट परीक्षा शुरु गर्दैछ । मंसिर ७ सम्म परीक्षा सक्नेगरी तयारी भइरहेको जनाइएको छ । कक्षा १२ को परीक्षा आउँदो मंंसिर ९ गतेबाट शुरु हुने तालिका छ । विद्यालयहरुले त्यसअगाबै कक्षा ११ को परीक्षा सक्ने योजना बनाएका हुन् ।


यसैबीच, नगरले शुक्रबार आफ्ना १३ वटै वडाका लिडर (अगुवा) विद्यालयहरुका प्रअहरुको बैठक राखी सानो समूहमा भएपनि विद्यालयमै सिकाइ सहजीकरण गराउने निचोड निकालेको छ । बैठकमा प्रअहरुले विद्यालय खुलाइसकेको अवस्थामा दिवा खाजाको रकम पनि दिन माग गरेको सिन्धुपुराना गाउँ माविका प्रधानाध्यापक कुमारप्रसाद खतिवडाले बताउनुभयो ।


नगरप्रमुख अर्यालले पनि दिवा खाजाको पैसा तिहारपछि नगरले दिने वचन दिनुभएको खतिवडाले जनाउनुभयो । प्रअहरुले स्वास्थ्य सुरक्षा सामग्री सबै विद्यालयमा पर्याप्त हुनुपर्ने माग गरेका थिए ।

प्रमुख समाचार

दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले

दशैं सकिनासाथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका अधिकांश विद्यालयहरु खुलेका छन् । नगर शिक्षा समितिको यही ८ कात्तिकमा बसेको बैठकले गरेको निर्णयअनुसार ...

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...