२०७७ कार्त्तिक १० गते / 26th Oct 2020, Monday
investment investment

प्रदेश १ का पालिकाहरु तत्कालै विद्यालय खोल्ने तयारीमा

सामाजिक विकास मन्त्री घिमिरे भन्नुहुन्छ–हामीले स्थानीय तहलाई डिक्टेड गर्न मिल्दैन तर स्कूल खोल्नु पर्छ


प्रदेश नं १ का पालिका जनप्रतिनिधि र शिक्षकहरु स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न आफूहरुले तयारी गरिरहेको जानकारी दिएका छन् ।
शिक्षा पत्रकार समूह प्रदेश १ समन्वय समितिद्वारा आज सोमबार आयोजित ‘विद्यालय सञ्चालनको अवस्था र चुनौती’ विषयक भर्चुअल संवादमा उनीहरुले यस्तो बताएका हुन् ।


दमक नगरपालिका झापाकी उपप्रमुख गीता अधिकारीले भन्नुभयो, ‘क्लष्टर छुट्याएर भएपनि विद्यालय खोल्ने तयारीमा छौं ।’ उहाँले शुरुमा विद्यार्थीको सूचीकृत गर्न टोल–टोलमा गएको जानकारी दिनुभयो । ‘कहाँ कसलाई कसरी पढाउने व्यवस्था गर्न सकिन्छ भनेर विवरण लियौं । वान टु वान, सामुहिक रुपमा हुन्छ कि अथवा सिफ्टमा ? त्यसको मोडल तयार गरेका र सिकाइ प्रक्रिया अघि बढाइसकेका छौं,’ उपप्रमुख अधिकारीले भन्नुभयो । उहाँले कोभिड–१९ ले गर्दा प्रविधिमार्फत् सिक्ने मौका विद्यार्थीले पाएको बताउनुभयो । ‘एक वर्षभित्र कमसेकम स्थानीय तह भनेको के हो र के काम गर्छ भन्ने पनि विद्यार्थीलाई थाहा दिने हाम्रो उद्देश्य हो,’ उहाँले प्रष्ट्याउनुभयो, ‘अभिभावकले एक वर्ष विद्यार्थीले नसिके केहुन्छ भन्नुभयो तर हामीले तपाईँहरुको काख पनि सिकाइ ल्याव हो भनेर परामर्श दिएका छौं ।’


संवाद कार्यक्रममा प्रमुख वक्ताका रुपमा रहनुभएका प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले कोभिड–१९ को बढ्दो संक्रमणसँगै स्वास्थ्य प्रोटोकलमा रहेर भएपनि विद्यालय सञ्चालन गर्नैपर्ने बाध्यता आइपरेको बताउनुभयो । तर, उहाँले कहाँ कुन अवस्था छ र कुन–कुन विद्यालय सञ्चालन गर्न उपयुक्त छन् भनेर निक्र्याैल गर्ने अधिकार भने स्थानीय सरकारकै हो भन्नुभयो । ‘हामीले विद्यालय खोल भनेर डिक्टेड गर्न मिल्दैन तर ढिलो–छिटो स्कूल खोल्नै पर्छ,’ उहाँले भन्नुभयो, ‘यसका निम्ति स्थानीय तहबाटै नै उपाय खोजौं ।’


मन्त्री घिमिरेले कोरोनालाई सामन्य नठान्न सचेत गराउनुभयो । ‘म आफैं कोरोना प्रभावित हुँ । कोरोना केही होइन भन्ने होइन, मेरो भोगाइले पनि यही भन्छ । यो कुनै बेसार पानीले ठीक हुन्छ भन्ठान्नु गलत हुन्छ,’ उहाँको भनाइ थियो ।


भोजपुर नगरपालिकाकी उपप्रमुख ममिता राईले यही असोज १५ गतेबाट विद्यालय सञ्चालन गर्ने तयारी रहेको जानकारी गराउनुभयो । यस्तै, फुङलिङ नगरपालिका ताप्लेजुङका उपप्रमुख ताराप्रसाद भट्टराईले विद्यालय चलाउनका लागि वातावरण बनाउन लागिएको जनाउनुभयो । उहाँले टाढा रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउनका निम्ति चुनौती भएको बताउनुभयो । उच्च, मध्यम र न्यून जोखिम भएको क्षेत्र छुट्याई विद्यालय सञ्चालन गर्ने योजना रहेको उहाँको भनाइ छ । उहाँले जिल्ला बाहिरका शिक्षकको पीसीआर जाँचेर भएपनि विद्यालय पठाइनेछ भन्नुभयो ।


त्रियुगा नगरपालिका उदयपुरकी उपप्रमुख देवीकुमारी चौधरीले भर्खरै शैक्षिक सरोकारवालासँगको छलफल सकिएको र अब विद्यालय खुलाउन नै सुझाब आएको सुनाउनुभयो । उहाँले स्थानीयस्तरमा विद्यालय खुलाउनु पर्छ भनिरहेका बेला गृहमन्त्रालयबाट नखुलाउनु भन्दा दोधारमा परेको सुनाउनुभयो । ‘तर अब जसरी पनि विद्यालय खुलाइनेछ,’ उहाँले भन्नुभयो ।


शिक्षकहरुले पनि अहिलेको स्थितिमा चूप लागेर नबसेको सुनाए । धुलाबारी माध्यमिक विद्यालयका प्रधानाध्यापक महेन्द्रविलास लुइटेलले शिक्षकहरु गाउँ–घरमा गएका र शुरुमा रेडियो बाँड्ने काम पनि गरिएको बताउनुभयो ।


नेपाल शिक्षक संघ प्रदेश १ का सचिव तेजप्रसाद चौलागाईले आफ्नो संगठनले कोभिड–१९ को प्रारम्भिक अवस्थामा ‘घर–घरमा विद्यालय’ कार्यक्रम शुरु गर्दा धेरैले नपत्याएको तर अहिले सार्थकता पाएको दाबी गर्नुभयो ।


नेपाल राष्ट्रिय शिक्षक संगठन प्रदेश १ का सचिव रघुनाथ मिश्रले चुलाचुली गाउँपालिका इलाममा विद्यालय चलाउने निर्णय भएको र आफूहरुले शुरु गरिसकेको जानकारी दिनुभयो । उहाँले संक्रमण बढी सम्भावना हुने शहरी क्षेत्रमा वैकल्पिक माध्यमबाट पढाउने र नहुने ठाउँमा प्रत्यक्ष विद्यालय सञ्चालनको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।


संवादमा सहभागी शिक्षक, शिक्षा पत्रकारलगायतका सरोकारवालाहरुले क्वारेन्टाइनमा रहेका विद्यालयको निसंक्रमीकरण, अभिभावक शिक्षा, वैकल्पिक माध्यमको पठनपाठनका निम्ति आमसञ्चार माध्यममा तय भएका रुटिन, दूरी कायम गरेर पढाउने व्यवस्था, स्वास्थ्य प्रोटोकलको पालना, अनलाइन पढाइका लागि डाटा उपलब्धतालगायतका विषय उठान गरेका थिए । संवादमा शिक्षा पत्रकार समूहका केन्द्रीय अध्यक्ष तुला अधिकारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, सहभागीहरु काशी दंगाललगायतले बोल्नुभएको थियो ।


शिक्षा पत्रकार समूह प्रदेश १ समन्वय समितिकी संयोजक राधा खनालले आउँदो कार्यक्रममा अभिभावकहरुसित छलफल गरिने बताउनुभयो । पत्रकार सुमन सुस्केराले चलाउनुभएको सो छलफलमा संयोजक खनालले शिक्षा पत्रकार समूह प्रदेश १ समन्वय समिति बिस्तारको घोषणा पनि गर्नुभयो ।


शिक्षा पत्रकार समूह प्रदेश १ समन्वय समितिमा को–को ?


अन्नपूर्णपोष्ट झापाकी संवाददाता राधा खनालको संयोजकत्वमा नौ सदस्यीय समन्वय समिति घोषणा गरिएको छ ।


सदस्यहरुमा कुमार लुइँटेल (बाह्रखरी डट कम, विराटनगर), सुमन सुस्केरा (उज्यालो रेडियो नेटवर्क, विराटनगर) प्रकाश तिमिल्सिना (सञ्चारलय डटकम, इटहरी) राम योङहाङ (नयाँ बुलन्द डटकम, इलाम), बन्दना दनुवार (रेडियो उदयपुर, उदयपुर), प्रदिपचन्द्र राई (अन्नपूर्ण पोष्ट दैनिक, भोजपुर), उपेन्द्र येक्तेन खाम्सा (इगल एफएम, पाँचथर) र सुम्निमा चाम्लिङ (कान्तिपुर दैनिक, धरान) रहनुभएको छ ।


गत २२ साउनमा शिक्षा पत्रकार समूह केन्द्रीय समितिले प्रादेशिक तहमा सांगठनिक संरचना बिस्तारको घोषणा गर्दै सातवटै प्रदेशमा संयोजकहरू चयन गरेको थियो ।

प्रमुख समाचार

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...

कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने कर्णाली प्रदेशमा  रेडियो र घर–घरमा शिक्षक परिचालन गरिने

हिमाली क्षेत्रमा छुट्टै सिकाइ विधि ल्याउने तयारी कोरोना भाइरस (कोभिड–१९) को महामारीका बीच सिकाइ निरन्तरताका लागि कर्णाली प्रदेशमा विशेष सिकाइ वि ...