२०७७ मंसिर १९ गते / 4th Dec 2020, Friday
investment investment

व्यावसायिक शिक्षाः रहर कि बाध्यता ?

बितेका दश वर्षहरुको शिक्षाको बजेट हेर्ने हो भने आकारमा वृद्धि भएतापनि कुल बजेटको हिस्साका हिसाबले शिक्षाको प्राथमिकतामा गिरावट आएको छ भन्न सकिने अवस्था छ । त्यसमा पनि साधारण तथा व्यावसायिक शिक्षाकातर्फको बजेटलाई हेर्ने हो भने व्यावसायिक शिक्षामा भनिएको प्राथमिकता नारामा मात्र सीमित भएको देखिन्छ । व्यावसायिक शिक्षाका सन्दर्भमा गुणस्तरीय तथा सिकाइ र कार्य सम्पादनमा भएको भिन्नता (मिसम्याच) का बारेमा चर्चा शुरु भएको पाइन्छ । साधारण शिक्षामा भने नक्कली तथा सट्टा शिक्षकको कुरा त सुन्दै आएको हो । नक्कली विद्यार्थी पनि सुन्ने गरिएको छ । विद्यालयहरु गाभ्ने सरकारी अभियानले यस तथ्यलाई गलत सावित गर्न नसक्ने देखिन्छ । त्यसैगरी, श्रम बजारमा प्रवेश गर्ने वार्षिक साढे छ लाख नागरिकका लागि वर्षेनी उच्च शिक्षा, विभिन्न मन्त्रालयहरु तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट दिइने तालिम र विभिन्न दातृ निकायहरुले समानान्तर स्वदेशी सरकारी संस्था सरह नै तालिमप्रदान गर्ने भएतापनि वैदेशिक रोजगारीमा जानेको संख्यामा झन्–झन् वृद्धि हुँदै जानुले व्यावसायिक तालिमको क्षेत्रमा पनि कतै नक्कली विद्यार्थी त छैनन् ? भन्ने प्रश्न उपस्थित हुन्छ । यसका लागि यो प्रक्रियामा संलग्न केहीको असंगत नियत, सरकारको स्पष्ट शासकीय दृष्टिकोणको अभाव, रोजगारी तथा स्वरोजगारीसँगको समन्वयविना नै तालिम कार्यक्रमको छनौट तथा सञ्चालन, व्यावसाय प्रबद्र्धनका लागि तालिम सञ्चालन गर्नुको साटो तालिम सञ्चालनलाई नै व्यवसाय बनाउनु, तालिम कार्यक्रम तथा सञ्चालनमा एकरुपता नहुनु, सबै सरकारी निकायहरु एक्लाएक्लै दौडिनु र उपयुक्त विद्यार्थी छनौट नहुनु जस्ता कारणहरु भएपनि यस आलेखमा सबभन्दा अन्तिम कारणमा चर्चा गर्न खोजिएको छ ।

 

विषय प्रवेश गर्नुभन्दा पहिले तालिममा संलग्न मुख्य मन्त्रालयहरुको (प्रतिस्पर्धी ?) निर्दिष्ट जिम्मेवारीको बारेमा उल्लेख गरांैै । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन २०४५मा सीपको वर्गीकरण, स्तरीकरण तथा प्रमाणीकरणको व्यवस्था भएको र त्यसैको क्रमिक विकास स्वरुप हालै मन्त्री परिषद्बाट अनुमोदन भई आएको राष्ट्रिय व्यावसायिक योग्यताप्रारुप (नेशनल भोकेशनल क्वालिफिकेशन फ्रेमवर्क) ले साधारण शिक्षा र व्यावसायिक शिक्षाको एकीकरणलाई कानूनी मान्यता दिएको मात्र नभई यसलाई शिक्षाको मूलधारका रुपमा मान्यता प्रदान गरेको छ । त्यसैले व्यावसायिक तालिम मूलधारको शैक्षिक क्रियाकलाप नै भएकाले यो काम सरकारका विभिन्न निकायहरुसँग समन्वय गर्न सम्पर्क मन्त्रालय मानिएको शिक्षा मन्त्रालयमातहत्का स्वायत्त शैक्षिक निकायहरुको हो । लघु, साना, मझौला तथा ठूला उद्योग व्यावसाय सञ्चालनलाई आवश्यक पर्ने सहज र प्रबद्र्धनात्मक वातावरण निर्माण गर्ने काम उद्योग मन्त्रालयको हो । उत्पादन तथा उत्पादकत्व वृद्धि, प्रतिस्पर्धी बजार मूल्य तथा उत्पादनमा उन्नत प्रविधिको प्रयोगमा जोड दिेने काम यो मन्त्रालयको हुनुपर्ने हो । कर्मचारी तथा श्रमिकहरुको सेवा सुविधा, वृत्ति विकास तथा टे«ड युनियनसम्बन्धी व्यवस्था हेर्ने काम श्रम मन्त्रालयको हो । यी तीनवटै मन्त्रालयहरुबीच समन्वयको अभाव तथा त्यहाँको नेतृत्वबीचमा हरेक मन्त्रालयलाई स्वतन्त्र तथा स्वायत्त सरकार मान्ने गरेकैले पनि समय, स्रोत तथा प्रयासहरुको परिणाममुखी नतिजा नदेखिएको हो । यसरी मूलधारको शिक्षा मानिएको व्यावसायिक शिक्षा नियमन तथा व्यवस्थापन गर्ने जिम्मेवारी शिक्षा हेर्ने मन्त्रालयको भएकाले उपयुक्त विद्यार्थी छनौटको प्रत्याभूति पनि सोहीअन्तर्गतको निकायबाट हुनुपर्ने देखिन्छ ।

 

अध्ययन–अध्यापनका लागि विद्यार्थी शारीरिक, मानसिक तथा सामाजिक रुपमा समेत तयार हुनुपर्ने भएकाले ऊ के का लागि बँच्न चाहन्छ ? यो विषय मनन् गर्नु अत्यन्तै आवश्यक हुन जान्छ । यसका लागि निम्न चारवटा मूलभूत प्रश्नहरुकाप्रति सो विद्यार्थीको अवधारणा तथा बुझाई थाहा पाउनु एकदमै आवश्यक पर्छ । ती प्रश्नहरु हुन्:

 

१. उसको रुचि केमा छ ?
२. ऊ के कुरामा निपुण छ ?
३. उसबाट समाजले के चाहन्छ ?
४. केका लागि उसलाई पारिश्रमिक दिन सकिन्छ ?

 

पहिला दुईवटा प्रश्नहरु विद्यार्थीको व्यक्तिगत शारिरिक तथा मनोवैज्ञानिक अवस्थासँग जोडिएका छन् भने पछिल्ला दुईवटा उसले समाजकाप्रति निर्वाह गर्नुपर्ने दायित्व तथा समाजले उसलाई दिने पारितोषिकसँग सम्बन्धित छन् । हरेक व्यक्तिमा यी स्वभावहरुको मात्रा फरक–फरक हुन्छ । यी चारवटै प्रश्नहरुलाई समान आकारको वृत्तका माध्यमबाट रेखाङ्कन गरी एउटै समतलमा राख्ने हो भने चारवटै वृत्तहरु एक आपसमा खप्टिएर बन्ने साझा वृत्तको क्षेत्रफल हरेक व्यक्तिमा फरक–फरक हुने तथ्य जापानी मनोवेत्ताहरुले सुझाएका छन् । यही साझा क्षेत्रफललाई ऊ केको लागि बाँच्न चाहन्छ भन्ने प्रश्नको उत्तर अनुमान गर्न उपयोग गर्ने गरिन्छ । यही अनुमानलाई नै विद्यार्थीको प्रतिभा परीक्षण (एप्टिच्युड टेष्ट) भन्ने गरिएको छ । यही परीक्षणको नतिजाका आधारमा विद्यार्थीलाई के कस्तो पेशा र सोहीबमोजिमको व्यवसायका लागि उपयुक्त छ ? भनी सिफारिश गर्न सकिने हुन्छ । यही नै वृत्ति परामर्श हो ।

 

अब वृत्ति परामर्शका बारेमा थप चर्चा गरौं । माथि भनिए जस्तै पहिलो र दोस्रो वृत्तको खप्टिएको क्षेत्रफल पनि व्यक्तिपिच्छे फरक–फरक हुने गर्छ । यही खप्टिएको क्षेत्रफललाई लगाब (प्यासन) भनिन्छ । त्यसैले लगाब भनेको व्यक्तिको रुचि र निपुणताको अन्तरसम्बन्ध हो । त्यसैगरी व्यक्तिको रुचि र समाजले उसबाट चाहेको कुराको अन्तरसम्बन्ध पनि हरेक व्यक्तिमा फरक–फरक हुन्छ र यसलाई ध्येय (मिशन) भनिन्छ । व्यक्तिको निपुणता तथा उसलाई समाजले दिने पारितोषिक बीचको अन्तरसम्बन्धलाई पेशा (प्रोफेशन) र व्यक्तिले पाउने पारितोषिक तथा समाजले व्यक्तिबाट गरेको अपेक्षाको अन्तरसम्बन्धलाई व्यवसाय (भोकेशन) भनिन्छ । यहाँ उल्लेख गरिएका चारवटा अन्तरसम्बन्धहरु हरेक व्यक्तिपिच्छे फरक–फरक हुने कुरा त दोहो¥याइरहनु परेन । त्यसैले यी चारवटा प्रश्नहरुको सही आँकलनलाई प्रतिभा परीक्षण भनेर माथि नै भनिसकियो । सही प्रतिभा परीक्षणबाट मात्र व्यक्तिलाई उपयुक्त वृत्तिका लागि परामर्श दिन सहज हुन्छ । लगाव, ध्येय, पेशा तथा व्यवसायका बारेमा प्रतिभा परीक्षण पछि प्राप्त भएको नतिजा नै सही अर्थमा वृत्ति परामर्श हो ।

विद्यार्थी, शिक्षक, कार्यस्थलको तालिममा संलग्न उद्योग व्यावसायी तथा निजी क्षेत्रका संस्था सञ्चालकहरु व्यक्ति नै भएकाले पेशा छनौट तथा व्यावसायिक सफलताका लागि उनीहरुको व्यक्तिगत, मानसिक तथा सामाजिक अवस्थाको पहिचान तथा प्रबद्र्धन पनि प्रतिभा परीक्षण तथा वृत्ति परामर्शका माध्यमबाट गर्नुपर्ने देखिन्छ । यो विषयलाई कार्यान्वयन गर्न सकिएमा पेशा तथा व्यावसाय बाध्यता नभई रहर हुनजाने हुँदा सफलताको दरमा मात्र वृद्धि नभई उत्पादन तथा उत्पादकत्वमा समेत बढोत्तरी हुने देखिन्छ ।

 

वृत्ति परामर्शका लागि सही नतिजामा पुग्न मानिसको स्वभाव तथा यसबाट विकास भएको उसको व्यक्तित्व पनि एकदम सहायक सिद्ध हुन्छ । व्यक्तिका स्वभावहरु अन्तर्मुखी तथा बहिर्मुखी र व्यक्तिकेन्द्रित तथा कामकेन्द्रित गरी चार थरिका हुन्छन् । अन्तर्मुखी तथा बहिर्मुखी स्वभाव एक अर्काका विरोधी देखिन्छन् भने एउटै व्यक्तिमा दुबै स्वभाव असम्भवप्रायः नै हुन्छन् । त्यसैगरी, व्यक्तिकेन्द्रित तथा कामकेन्द्रित स्वभाव पनि परस्पर विरोधी तथा एउटै व्यक्तिमा सँगसँगै भेट्न नसकिने स्वभावहरु हुन् । यिनै चारवटामध्ये एकैपटक एकै व्यक्तिमा पाउन सकिने स्वभावहरुको मिश्रण व्यक्तिको व्यक्तित्व (पर्सन्यालिटी) निर्माणमा सहायक सिद्ध भएको हुन्छ । बहिर्मुखी र कामकेन्द्रित स्वभावले हावी व्यक्तित्व (डोमिनेटिङ्ग पर्सन्यालिटी) निर्माणमा सघाऊ पुग्छ । बहिर्मुखी र व्यक्तिकेन्द्रित स्वभावले उत्प्रेरक व्यक्तित्व (इन्स्पायरिङ्ग पर्सन्यालिटी) निर्माणमा सघाऊ पुग्छ । अन्तर्मुखी र कामकेन्द्रित स्वभावले सहयोगी व्यक्तित्व (सपोर्टिभ पर्सन्यालिटी) निर्माणमा सघाऊ पुग्छ । अन्तर्मुखी र व्यक्तिकेन्द्रित स्वभावले सावधान व्यक्तित्व (कन्सियस पर्सन्यालिटी) बनाउन सघाउँछ । यहाँ बहिर्मुखी, अन्तर्मुखी, व्यक्ति केन्द्रित तथा कामकेन्द्रित स्वभावका बारेमा थप छलफल गरिएन ।

 

त्यसैले माथिका मुख्य चारवटा प्रश्नहरुको सम्भावित उत्तर खोज्ने इमान्दार प्रयास तथा व्यक्तिका स्वभावजन्य सम्मिश्रणबाट उजागर हुन आउने व्यक्तित्वका आधारमा उसको लगाव, ध्येय, पेशा तथा व्यवसायका बारेमा अनुमान गर्न सकिन्छ । अघिल्लो अनुमान प्रतिभा परीक्षण हो भने पछिल्लो वृत्ति परामर्श । अब प्रश्न उठ्छ, हामीले के यो प्रक्रियालाई अवलम्बन गरेका छौं ? अवलम्बन गरेका छौं भने यसको नतिजालाई कति महत्वका साथ कार्यान्वयन गरेका छौं ?

 

व्यावसायिक शिक्षामा प्रशिक्षार्थी छनौटमा विगतमा प्रतिभा परीक्षणको चर्चा चल्ने गरेको र यसको केही हदसम्म अभ्यास पनि भएको पाइन्छ । त्यसैले गर्दा विद्यार्थीहरु उच्च मनोबलका साथ पठनपाठनमा सक्रिय हुने र अध्ययनपश्चात्को रोजगारीमा पनि सफल हुने गरेको पाइन्थ्यो । हालआएर विद्यार्थी छनौट सामान्य ज्ञानमा आधारित लिखित परीक्षाका माध्यमबाट गरिने भएकाले माथि उल्लिखित प्रतिभा परीक्षण, व्यक्तित्व पहिचान तथा वृत्ति परामर्श जस्ता विषयहरु एकदमै प्रयोगबाट बाहिर रहेका छन् । त्यसैले विद्यार्थीहरु रुचि, क्षमता तथा व्यक्तित्वका आधारमा उपयुक्त विषयमा अध्ययन गरिरहेका छन् भन्ने प्रामाणिक आधार पाइँदैन । यसलाई पुष्टि गर्नका लागि विद्यार्थी भर्नाको आधारलाई मात्र हेर्दा पनि पर्याप्त हुन्छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सरकारी, सहकारी, साझेदारी तथा निजीस्तरमा सञ्चालित कार्यक्रममा रहेको कुल वार्षिक भर्ना क्षमता ७४, ८६३ मध्ये जम्माजम्मी ५० हजार विद्यार्थीहरु पनि भर्ना भएको अवस्था छैन । उद्योग व्यवसायका लागि सीपमूलक जनशक्ति अभाव भएको अवस्थामा सूचनाको पहुँच नभएका कारणले भर्ना हुननसकेका अतिरिक्त यस्तो कहालीलाग्दो अवस्था देखिनु भनेको कार्यक्रमका लागि उपयुक्त विद्यार्थी छनौट गर्ने व्यवस्थाको अभाव हो पनि भन्न सकिन्छ ।

 

त्यसैगरी, परिषद्का कार्यक्रमहरु सञ्चालन गर्ने १०६१ संस्थाहरुमा पठनपाठनमा संलग्न शिक्षक–प्रशिक्षकहरु पनि माथिउल्लेख गरिएको प्रतिभा परीक्षण तथा वृत्ति परामर्शको माध्यमबाट यो पेशामा आउनुपर्ने सैद्धान्तिक मान्यता हो । यो विषय त हालसम्म बौद्धिक विलासको खुराकसमेत बन्न सकेको छैन । शिक्षण प्रशिक्षण पेशाले उल्लेख्य मर्यादा कायम गर्न तथा सोका लागि आवश्यक वातावरण निर्माण गर्न उत्प्रेरक हुन नसकेको अवस्थामा उनीहरुको कार्य क्षमता तथा व्यावसायिकताप्रति उच्च अपेक्षा राख्न कति सहज हुन्छ ? त्यसमा पनि दक्षताभन्दा अधिकारलाई सर्वोपरी मान्ने हाम्रो सामाजिक संस्कारमा शिक्षण प्रशिक्षणलाई कसरी सम्मानित बनाउन सकिन्छ ? अहम् विषय हुन आउँछ । यिनै मूलभूत विषयहरुका बारेमा ठोस अवधारणा बनाएपछि मात्र शिक्षक–प्रशिक्षकको सहज आपूर्ति तथा सेवाको निरन्तरताका बारेमा विवेचना गर्नु तर्कसंगत हुन आउँछ ।


शिक्षक–प्रशिक्षक तथा विद्यार्थीहरुको उपयुक्त छनौट पछि कार्यस्थलको सिकाइमा आधारित पठनपाठनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर बहश गर्नुपर्ने अवस्थामा सरकारको बजेट वक्तव्यमा उल्लेख गरेको प्राविधिक धारको प्रसङ्गका सबिस्तार वस्तुगत व्याख्या गर्नुपर्ने हो वा परिषद्ले हालसम्म गरेको उपलब्धिप्रतिको असन्तुष्टि हो ? निक्र्यौल गर्नुपर्ने देखिएको छ । निजी क्षेत्रका शिक्षालयहरुले सामुदायिक शिक्षालयहरुलाई समेत सहयोग र समन्वय गर्ने विषयचाहिँ एकातर्फ सरकारी, सहकारी र साभेदारी ‘तीनखम्बे नीति’ को व्यावहारिक स्वीकारोक्ति हो भने अर्कोतर्फ निजी क्षेत्रका शिक्षालयहरु पनि सक्षम भएको व्यहोराको अनुमोदन हो । निजी क्षेत्र संगठित नभइसकेको अवस्थामा यो क्षेत्रको व्यवस्थापन व्यक्ति अथवा परिवारले सञ्चालन गरेको मान्नुपर्छ नकि आधुनिक व्यवस्थापन सिद्धान्तले । त्यसैले, यो तेस्रो पक्षमा पनि व्यक्ति नै प्रधान देखिन आउँछ ।

 

विद्यार्थी, शिक्षक, कार्यस्थलको तालिममा संलग्न उद्योग व्यावसायी तथा निजी क्षेत्रका संस्था सञ्चालकहरु व्यक्ति नै भएकाले पेशा छनौट तथा व्यावसायिक सफलताका लागि उनीहरुको व्यक्तिगत, मानसिक तथा सामाजिक अवस्थाको पहिचान तथा प्रबद्र्धन पनि प्रतिभा परीक्षण तथा वृत्ति परामर्शका माध्यमबाट गर्नुपर्ने देखिन्छ । यो विषयलाई कार्यान्वयन गर्न सकिएमा पेशा तथा व्यावसाय बाध्यता नभई रहर हुनजाने हुँदा सफलताको दरमा मात्र वृद्धि नभई उत्पादन तथा उत्पादकत्वमा समेत बढोत्तरी हुने देखिन्छ । सरकारले तर्जुमा गरेको व्यावसायिक शिक्षाका कार्यक्रमहरुमा समेत वृत्ति परामर्शलाई महत्वकासाथ समावेश गरिएकाले पठनपाठनमा संलग्न विधामा भएको व्यक्तिको आपूर्तिको अभावका साथै कृषि, पर्यटन, उद्योग व्यावसाय तथा अन्य सेवाका क्षेत्रमा समेत जनशक्ति अभाव देखिएको हुँदा प्रतिभा पहिचान तथा व्यक्तित्व परीक्षणका माध्यमबाट पेशा छनौट गर्ने अवसर सरोकारवालाहरुलाई प्रदान गर्न सकेमा शिक्षा सीपमा, सीप श्रममा, श्रम रोजगारीमा, रोजगारी उत्पादनमा, उत्पादन विकासमा तथा विकास समृद्धिमा परिणत हुन सक्ने देखिन्छ ।

 

(लेखक, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का निर्देशक हुनुहुन्छ ।)

प्रमुख समाचार

दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले दशैं सकिनासाथ मेलम्चीका सबै विद्यालय खुले

दशैं सकिनासाथ सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका अधिकांश विद्यालयहरु खुलेका छन् । नगर शिक्षा समितिको यही ८ कात्तिकमा बसेको बैठकले गरेको निर्णयअनुसार ...

दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना दिवा खाजाको बजेट रकामान्तर गरेर विद्यार्थीलाई इन्टरनेट उपलब्ध गराउने सरकारको योजना

शिक्षा सचिव भन्नुहुन्छ–संघीय शिक्षा ऐनका लागि सबैको साथ चाहिन्छ   शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को महामारीमा विद्य ...

राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता राज्यमन्त्रीलाई विद्यालय खुलाउनेभन्दा संविधानको शिक्षा अधिकारसम्बन्धी अनुसूचिको चिन्ता

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अविराम शर्माले माध्यमिक शिक्षा स्थानीय तहलाई दिइएको सम्बन्धमा अब सबभन्दा पहिला संविधानले दिएको अधिकार सूचीमाथि ...