२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday
investment investment

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप्रतिनिधिले आपत्ति जनाएका छन् ।


‘यो निकै दुःखलाग्दो कुरा हो । माध्यमिक तहसम्म विद्यालयको जिम्मेवारी स्थानीय तहको छ तर एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनबारे हामीलाई कुनै जानकारी नै दिइएन,’ शिक्षा पत्रकार समूहद्वारा सोमबार आयोजित ‘एसइइ परीक्षाको आन्तरिक मूल्याङ्कनः अनुभव र नतिजा’ विषयक भर्चुअल संवादमा मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले भन्नुभयो, ‘हामीले त परीक्षाको कार्यविधि पनि हेर्न पाएनौं । यसबारे शिक्षा विकास तथा समन्वय इकाईले न सम्पर्क गर्यो न त औपचारिक जानकारी नै दियो ।’


उहाँले माध्यमिक तहसम्मको सम्पूर्ण शिक्षाको जिम्मेवारीसहित जश–अपजश स्थानीय तहले बोक्नुपर्ने तर परीक्षा जस्तो महत्वपूर्ण विषयमा कुनै जानकारी नदिइनु दुःखद भएको बताउनुभयो । ‘परीक्षामा स्थानीय तहको कहीँ न कहीँ भूमिका हुनुपथ्र्याे । तर त्यो भएन,’ उहाँले परीक्षा कार्यविधिप्रति असन्तुष्टि पोख्नुभयो, ‘जबकि, उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने हाम्रो कार्यक्रम छ । तर, कुन विद्यालय उत्कृष्ट छ भनेर रिजल्ट थाहा पाउन इकाईमा धाउनुपर्ने वा विद्यालयमै सोध्नुपर्ने अवस्था बनेको छ ।’


यता, राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले भने कार्यविधि केन्द्रबाटै बनेको स्थितिमा स्थानीय तहलाई निर्देशन दिन नसकिने हुँदा ‘आवश्यकता अनुसार स्थानीय तहसँग सहजीकरण गर्न सक्ने’ प्रावधान राखिएको बताउनुभयो ।


उहाँले संघीय शिक्षा ऐन आउने तयारीमा रहेको र त्यसले परीक्षासम्बन्धी थुप्रै प्रश्नहरुको हल गर्न सक्छ भन्नुभयो । अहिले आन्तरिक मूल्याङ्कन विधिबाट नतिजा प्रकाशन गरिने भएपनि ऐन आएपछि एसइइ प्रदेशस्तरीय रुपमा हुन सक्नेल बताउनुभयो । गत चैत ६ बाट हुनुपर्ने एसइइ परीक्षा कोरोना महामारीका कारण सरकारले अघिल्लो दिन ५ गते नै स्थगन गरेको थियो । मन्त्रिपरिषद्ले नै गत जेठ अन्तिम साता निर्णय गर्दै विद्यालयबाटै गरिने आन्तरिक मूल्याङ्कनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाएर नतिजा प्रकाशन गर्न निर्देशन दिएको थियो । सोहीअनुसार राष्ट्रिय परीक्षा बोर्डले एक कार्यविधि बनाई एसइइ नतिजा प्रकाशनको तयारी गरिरहेको छ ।


परीक्षा बोर्डले परीक्षा कार्यविधिअनुसार विद्यालयमा मूल्याङ्कनका लागि गठित समितिबाट प्रमाणित गराइएको अंक लेजर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाईमार्फत् रुजु गरी हार्डकपि र सफ्टकपि दुबै बुझ्ने गर्छ ।


‘यसरी पठाइएको हार्डकपिसँग मिल्छ कि मिल्दैन भनेर सफ्ट कपिलाई हामीले हेर्यौं । यसमा धेरै जस्ता विद्यालयले रामै्र गरेको देखियो तर केहीले भने रुजु नै नगरी पठाएको पाइयो,’ खकुरेलले भन्नुभयो ।

परीक्षा नियन्त्रक खकुरेलले केही विद्यालयहरुले अस्वाभाविक अंक पठाएको, सफ्टकपिमा लेखिएको हार्डकपिमा नभएको, कतिपयले प्राक्टिकल विषयको अंक दिन नै छुटाएको जानकारी दिनुभयो ।


शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका प्रमुख दीपेन्द्र ढकालले गत असार १० देखि २१ गतेसम्म कार्ययोजनासहित सबै विद्यालयलाई सूचित गर्दै आन्तरिक मूल्याङ्कन अंक संकलन गरिएको बताउनुभयो । उहाँले विद्युत्तीय कपी एक्सेलमा व्यवस्थापन गर्न केही विद्यालयले अफ्ठ्यारो मानेकोसमेत सुनाउनुभयो । उहाँले स्थानीय तहमा पनि समन्वय होस् भनेर रुपन्देहीका १६ वटै पालिकाका शिक्षा प्रमुखलाई जानकारी दिइएको जानकारी दिनुभयो । 


आन्तरिक मूल्याङ्कनको अंक पठाउँदा विद्यालयहरुले अस्वाभाविक अङ्कन गरेको पनि गुनासो सुनिएका छन् । जयन्ति मावि महाबु दैलेखकी प्रअ सरीता गुरुङले कतिपय निजी विद्यालयले यसरी अंक दिएको भन्ने चर्चा आफूले सुनेको बताउनुभयो । त्यसो त, शिक्षकलाई हेर्ने दृष्टि र शिक्षक स्वयंको व्यवहारले पनि आन्तरिक मूल्याङ्कनमा केही प्रश्न उठ्ने गरेको उहाँको भनाइ थियो । प्रअ गुरुङले मूल्याङ्कनको अङ्कन गर्न भर्चुअल रुपमै भएपनि अभिमुखीकरण दिएको भए समस्या नपर्नेथ्यो भन्नुभयो ।


परीक्षा नतिजा कार्यविधि अनुसार विद्यालयले आन्तरिक मूल्याङ्कन अंक प्रमाणित गर्न प्रधानाध्यापकको संयोजकत्वमा एक जेष्ठ शिक्षकसहितको तीन सदस्यीय समिति गठन गर्नुपर्ने प्रावधान छ । सोही समितिले प्रमाणित गरेको अङ्कन लेजरका रुपमा हार्डकपिलाई परीक्षा बोर्डमा पठाइएका छन् ।

विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापाले स्थानीय सरकारलाई जिम्मेवार बनाई ‘लिड’ लिने अवस्था बनाएको भए हुन्थ्यो भन्नुभयो । ‘स्थानीय तहले पनि विद्यालय व्यवस्थापन समितिसँग मिलेर काम गर्ने अवस्था बनाएको भए राम्रो हुनेथ्यो’ उहाँको सुझाब थियो, ‘अब नतिजा विश्वसनीय होस्, बदनाम हुनेखालको नहोस् ।’


कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत एचआरडिसिका बखत भण्डारीले परीक्षा नतिजामा लापार्बाही गर्नेमाथि अनुगमन कस्तो होला भनी प्रश्न सोध्नुभयो । उहाँको थप सोधाइ थियो, ‘एसइइ परीक्षा आगामी दिनमा फेरि केन्द्रीय  वा अरु नै स्वरुप कुन प्रकार होला ? यसमा प्रष्ट हुनु पर्छ ।’ 

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...