२०७७ असोज ३ गते / 19th Sep 2020, Saturday
investment investment

ज्ञान, सीप र आचरणसहितको शिक्षा आजको आवश्यकता

विश्व परिवेश

ज्ञान, सीप र आचरणसहितको शिक्षामा लगानी गरेका मुलुकहरुको आर्थिक अवस्था मजबूत देखिन्छ । विकसित मुलुकहरु जस्तै जापान, कोरिया, सिंगापुर, अमेरिका र यूरोपीय मुलुकहरुले गुणात्मक एवं बजारको मागअनुसार शिक्षा र सिकाइलाई एकैसाथ लगेका हुनाले आज ती देशमा शिक्षा क्षेत्रबाट उत्पादित जनशक्तिहरु धेरै गुणात्मक पाइन्छ । यी देशहरुले शिक्षालाई सन्तुलित रुपमा ज्ञान (knowledge), सीप (Skills) र आचरण (Attitude) सहित बनाएका छन् । साथै, उनीहरुले एक्काइसौं शताब्दीको शिक्षाको प्रारूपअनुरूप आधारभूत विषय, सूचना प्रविधिसहितको प्राविधिक विषय, सिर्जनात्मक तथा नवीनतम, समस्या समाधान र जीवनोपयोगी सीप एवं सञ्चार जस्ता विषयहरु समग्र शिक्षातर्फ अघि बढेका छन् । उनीहरूको मुख्य लक्ष्य भनेको विश्व बजारमा प्रतिस्पर्धी क्षमतासहित कार्य गर्न सक्ने जनशक्ति उत्पादन गर्नु नै हो । त्यसैले, कसरी पूर्ण क्षमतावान जनशक्ति उत्पादन गरी समग्र देश विकासमा मानव पूँजी परिचालन गर्ने भनेर दृढ अठोटका साथ अघि बढेका छन् । कोभिड–१९ महामारीले त एक्काइसौं शताब्दीको शिक्षामा सूचना प्रविधि र डिजिटल टेक्नोलोजीको महत्व थप उजागर गरेको छ ।


केन्द्रीय सिटिइभिटिले नियमनकारी निकायको रुपमा गुणात्मक सुनिश्चिततालाई र बजारको मागअनुसार नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास अघि बढाउने कार्यमा केन्द्रित हुन जरुरी छ । बन्दै गरेको नयाँ प्राविधिक तथा व्यावसायिक शिक्षा ऐनमा विभिन्न मन्त्रालयहरुमा छरिएर रहेको सीपमूलक तालिम कार्यक्रमहरुलाई एउटै छातामा ल्याउने यो सुवर्ण अवसर पनि हो, जसबाट नेपालमा एकै किसिमको पाठ्यक्रम, एउटै स्तर र राष्ट्रिय व्यावसायिक शिक्षा मापन प्रणालीअनुरुपका कार्यक्रमहरु संचालनमा सहजता आउँछ ।

नेपालको शिक्षामा धेरै राम्रा प्रयासहरु पनि भएका छन् । तर, आशातित रूपमा गुणात्मक जनशक्ति उत्पादनमा सफलता मिल्न सकेको छैन । केही सरकारी र निजी विद्यालयहरूबाट उत्पादित जनशक्तिलाई छाड्दा अधिकांश उत्पादित जनशक्तिहरु बजारमा प्रतिस्पर्धी रुपमा प्रस्तुत हुन सकिरहेका छैनन् । शिक्षामा पहुँच, लैङ्गिक समानता र भौतिक रुपमा शिक्षालय संख्या उल्लेख्य रुपमा वृद्धि भएको पाइन्छ । तथापि, शिक्षा प्रणालीले समग्र रुपमा राष्ट्रिय शिक्षाको उद्देश्य पहिचान गर्न सकेको छैन । प्रत्येक वर्ष जस्तो आउने शिक्षा नीतिले सही रूपमा रणनीतिक दिशानिर्देश गरेको देखिँदैन । साधारण शिक्षातर्फ प्राथमिक शिक्षा, माध्यमिक शिक्षा र उच्च शिक्षा एवं प्राविधिक शिक्षातर्फ विद्यालयमा प्राविधिक धार र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्बाट सञ्चालन हुने प्राविधिक शिक्षा कार्यक्रमहरुले मूल रूपमा राष्ट्रिय उद्देश्य पहिचान गरेको देखिँदैन । नेपालमा प्राविधिक शिक्षातर्फ नर्सिङलगायत केही डिप्लोमा र ब्याचलर इञ्जिनियरिङ कार्यक्रमहरु गुणात्मक देखिन्छ । शिक्षा कार्यक्रमहरु सरकारी एवं निजीस्तरबाट सञ्चालन भएका छन् । पहुँच र गुणात्मक पक्षलाई केलाउँदा ती कार्यक्रमहरूमा एकरूपता पाइँदैन । जसबाट स्पष्ट हुन्छ कि राष्ट्रिय शिक्षाको बाटो रणनीतिक दिशामा छैन । शैक्षिक पाठ्यक्रमहरूमा राष्ट्रिय आवश्यकता, विश्व बजारको सन्दर्भ र एक्काइसौं शताब्दीका सीपहरु समावेश गर्न नसकिएबाट उत्पादित जनशक्तिहरु बढी बेरोजगार हुने र राज्यले अधिकतम् प्रतिफल प्राप्त गर्न सकेको छैन । हाम्रो शैक्षिक प्रणालीबाट उत्पादित विद्यार्थीहरु अर्थात् युवाहरु विशेषगरी निजीस्तरमा अध्ययन गरी उत्पादन भएका युवाहरु सरकारी रोजगारीप्रति आकर्षित भएको देखिन्न । जसको परिणामस्वरूप कक्षा ९ देखि नै युवाहरु विदेशमा पढ्न जाने, उतै काम गर्ने र स्वदेशप्रति खासै चासो नदिने प्रवृत्तिहरू दिनप्रतिदिन बढ्दो छ ।


हामी कहाँ चुक्यौं ?


नेपालीको अर्को विशेषण हो, अनुशासित र आचरणयुक्त । पूर्वीय सभ्यता र गुरुकुल शिक्षा पद्धतिले गर्दा परापूर्वकालदेखि नेपालीहरु अनुशासित र आफूभन्दा ठूलाको आदर सद्भाव गर्ने स्वभावमा गनिन्छन् । बिस्तारै हामीले प्रदान गरेको शिक्षामा ज्ञान, सीप र आचरण खडेरी परेको छ । यस्तो हुनुको पछाडि मुख्यगरी तीनवटै पक्षलाई राम्रोसँग शिक्षाका पाठ्यक्रमहरूमा समावेश गर्न नसक्नु र सोहीअनुरुपको सिकाइ वातावरण तयार गर्न नसक्नु नै मुख्य कारण हो ।


यस्तै आदरणीय शिक्षकहरु र शिक्षित व्यक्तिहरु प्रति दिनप्रतिदिन गिर्दो सम्मान र नीतिगत तहमा पुग्न शिक्षाको खासै महत्व हाम्रो समाजले नदिएबाट पनि आजका युवाहरुमा एक किसिमको वितृष्णा पैदा भएको छ । परिणामस्वरूप अब्बल नतिजा भएका अर्थात् सक्षम व्यक्तिहरु शिक्षकको पेशा प्रति आकर्षित छैनन् । शिक्षाको समग्र प्रणालीले सरकारी विद्यालयहरु मा अध्ययन गर्ने विद्यार्थी गरीब र निजी विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थी धनी कहलाउने किसिमको परिपाटीमा मलजल गरेबाट धनी र गरीबबीचको खाडल ठूलो भएको छ । प्राविधिक तथा व्यावसायिक शिक्षाले आज विश्व बजारमा अग्रणी स्थान हासिल गरेको छ, चाहे रोजगारी सिर्जनामा अथवा आर्थिक वृद्धिमा । तर, नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाले २१ औं शताब्दीका निमित्त गुणात्मक छलाङ मार्नुपर्ने अवस्थामा २०२८ सालको अवस्थातर्फ हामी अग्रसर भएका छौं । जसको ज्वलन्त उदाहरण सामुदायिक विद्यालयहरुमा बिना पूर्वाधार, विना प्रशिक्षक, बिना बजारको माग विश्लेषण ७५३ वटा स्थानीय निकायमा कार्यक्रम पुर्याउने नाममा अति नै कम गुणात्मक रूपमा प्राविधिक विद्यालयहरु सञ्चालित हुँदै गएका छन् । त्यति मात्र होइन, कतिपय विद्यालयहरुमा केवल २ देखि ६ जना मात्र विद्यार्थी रहेको र प्रयोगात्मक अभ्यासका लागि उद्योग कलकारखाना पनि नभएको अवस्था छ ।


तसर्थ यस्ता प्राविधिक विद्यालयहरुलाई प्राविधिक विद्यालय नभनी राजनीतिक प्राविधिक विद्यालय भन्नुमा अतिशयोक्ति नहोला । कामलाई सम्मान नगर्ने हाम्रो सामाजिक परिपाटीले गर्दा प्राविधिक तथा व्यवसायिक शिक्षाका उत्पादनहरु पनि उच्च शिक्षातर्फ बढी आकर्षित हुने र वास्तविक श्रमबजारमा कामदारको अभाव महशूस हुनु अर्को हाम्रो सामाजिक कमजोरी हो । त्यसैगरी, नीतिगत र नेतृत्व तहमा बस्ने व्यक्तिहरूबाट साधारण शिक्षा तथा प्राविधिक शिक्षालाई एउटै दृष्टिकोणले हेर्दा गुणात्मक पक्षमा ठूलो कमजोरी भएको छ ।


निजीस्तरमा सञ्चालित शैक्षिक संस्थाहरु पनि गुणात्मक विद्यार्थीको छनौटतर्फ भन्दा संख्यात्मक रुपमा क्षमता बढाउने तर्फ केन्द्रित भएबाट पनि प्राविधिक शिक्षाको नतिजा र उपलब्धि उत्साहजनक देखिँदैन । किनकि, भर्ना भएका विद्यार्थीमध्ये औषतमा ४० देखि ५० प्रतिशत मात्र उत्तीर्ण हुने र ७० प्रतिशत मात्रले रोजगारी पाएको देखिन्छ । STEM शिक्षालाई एक्काइसौं शताब्दीको विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षामा आधारभूत रुपमा लिइएको छ । तर, हामीले त्यसको आवश्यकतालाई महशूस नगर्दा शिक्षा प्रणालीबाट उत्पादित जनशक्ति विश्वबजारमा प्रतिस्पर्धी हुन सकेका छैनन् ।


शैक्षिक पाठ्यक्रमहरूमा ज्ञान, सीप र आचरणलाई सन्तुलित रुपमा समावेश गर्न नसक्नु र सिकाइ वातावरणमा तिनीहरूलाई उपयुक्त तबरले सिकाउने परिपाटी नभएकाले पनि समग्र गुणात्मक पक्षमा कमजोरी देखिएको छ । चाहे साधारण शिक्षामा होस् वा प्राविधिक शिक्षामा, शिक्षक एवं प्रशिक्षकहरुलाई उपयुक्त किसिमको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने अवसरहरु दिन नसक्नु अर्को गुणात्मक पक्षमा कमजोरी हो । किनकि, समय र बजारको मागअनुसार उनीहरूको क्षमता अभिवृद्धि हुनु सिकाइका लागि अति नै महत्व छ । विशेषगरी प्राविधिक शिक्षामा औद्योगिक अनुभव नभएका प्रशिक्षकहरुले प्रशिक्षण गर्दा उद्योगको अर्थात् रोजगारदाताको आवश्यकताअनुरुप सिकाइ हुन सक्दैन ।


निष्कर्ष


विगत लामो समयदेखि शिक्षामा गरिँदै आएको प्रयोग र अभ्यासहरुले नेपालमा शिक्षाका केही आशलाग्दा उदाहरणहरु छाडेका छन् । जस्तैः महिला विद्यार्थीको सहभागिता, प्राथमिक तहमा Net Enrollment Rate, उदाहरणीय सामुदायिक विद्यालयहरु, निजी क्षेत्रको उपस्थिति एवं साक्षरता अभियान यसका उदाहरणहरू हुन् । संख्यात्मक उपलब्धिलाई अब गुणात्मक उपलब्धिमा परिणत गर्नु अति नै जरुरी छ । सरकारका क्रियाकलापहरुले के देखिन्छ भने कुनै बखत शिक्षामा निजी क्षेत्रको सहभागितालाई महत्व दिएको र कहिलेचाहिँ अन्त्य गर्नेखालका क्रियाकलापहरु भएको पाइन्छ ।


संविधान त नेपालको समग्र विकासका लागि सार्वजनिक निजी साझेदारी अंगिकार गरिएको सन्दर्भमा सरकारले निजी क्षेत्रलाई शत्रुगत व्यवहारले नहेरी समग्र शिक्षा विकासको साझेदारको रुपमा हेर्न जरुरी छ । आजको मुख्य प्रश्न भनेको माध्यमिक तहसम्म शिक्षा अनिवार्य र निःशुल्क उपलब्ध गराउने व्यवस्था भएबाट दुबै किसिमका विद्यालयहरु सञ्चालन हुन जरुरी छ । तर, राज्यले प्रत्येक तहमा शुल्क निर्धारण गरी उक्त रकम प्रतिव्यक्तिका दरले निजी विद्यालयहरुलाई उपलब्ध गराउन सकेमा निजी विद्यालयहरुबाट विद्यार्थीहरु ठगिएको गुनासो सुन्नुपर्ने अवस्था हुँदैन । किनकि, शिक्षा भनेको राज्यको उत्तरदायित्व हो । यो प्रणाली थाइल्याण्ड तथा विश्वका विभिन्न मुलुकहरूमा सञ्चालनमा छन् ।


अहिलेको नेपाली समाज विद्यार्थीले अंग्रेजी बोल्न जान्यो भने त्यसलाई ‘गुणात्मक शिक्षा’ ठान्ने र पाँच वर्षको शिशुलाई घाँटीमा टाई लगाउँदा गर्व गर्ने परिपाटीबाट ग्रसित छ । वास्तवमा, गुणात्मक शिक्षा भन्नाले ज्ञान, सीप र आचरणको समिश्रण भई समग्र पक्षमा दक्षता हासिल गरेकालाई मात्र बुझ्न सकिन्छ । तसर्थ, एक्काइसौं शताब्दीको जनशक्ति विकासको लागि शिक्षामा STEM शिक्षालाई मुख्य प्राथमिकता दिनु पर्छ र प्राविधिक शिक्षामा समयको मागअनुसार एक्काइसौं शताब्दीको सीपसहितको पाठ्यक्रम तर्जुमा गरी नयाँ शिराबाट अध्ययन अध्यापन शुरु गराउन जरुरी छ । हाम्रो समाजले प्राविधिक तथा व्यावसायिक शिक्षाबाट उत्पादित जनशक्तिलाई अझै पनि दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने र समाजमा सीपमूलक काम गर्ने व्यक्तिहरुले सम्मान नपाउने अवस्थाले गर्दा यसतर्फ मानिसहरूको आकर्षण घट्दो छ । त्यसैले समाजका विभिन्न विधामा काम गर्ने कर्मीहरुलाई फूलमालासहित वा विशिष्ट किसिमले सम्मान गर्ने परिपाटीको शुरुवात हुन जरुरी छ ।


अन्य व्यक्तिको तुलनामा नेपालको उच्च शिक्षा र विशेषगरी प्राविधिक तथा व्यावसायिक शिक्षामा औद्योगिक व्यवसायीहरूको संलग्नता ज्यादै न्यून देखिन्छ । प्राविधिक शिक्षामा औद्योगिक व्यवसायीहरूको संलग्नताबिना सिकाइ अपूरो नै हुन्छ । उद्योग व्यवसायअन्तर्गत वास्तविक कार्यक्षेत्रमा सिकाइको वातावरण निर्माणका लागि सरकारले कानूनी रुपमै उद्योग–उद्योगीहरुका लागि थप प्रोत्साहनसहितको अनिवार्य उत्तरदायित्व विकास गर्न जरुरी छ ।


नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद ओलीबाट ७५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा सुनिश्चित गराउने अठोटलाई सबै स्थानीय तहमा प्राविधिक शिक्षालय खोल्ने बुझाईले बजारको माग, जनसंख्या र प्रयोगात्मक तालिमका लागि उद्योग–व्यवसाय एवं प्रशिक्षकहरूको अभाव हुने अवस्थामा पनि प्राविधिक शिक्षालय विकास गर्दै जाँदा गुणात्मक पक्ष र त्यहाँको आवश्यकता ओझेलमा परेको छ । यसको अर्थ पाँचजना विद्यार्थीलाई प्राविधिक शिक्षालय खोल्नु भनेको पक्कै होइन । हामीले प्रधानमन्त्रीज्यूको सपनाअनुसार जुन स्थानमा पूर्वाधार छैनन्, जनसंख्या कम छ तर केही मात्र विद्यार्थीहरु छन् र उद्योग व्यवसाय पनि छैन भने त्यस्ता खालका विद्यार्थीहरुलाई अन्यत्र क्षेत्र वा जिल्लामा लगेर छात्राबासमा राखी प्राविधिक शिक्षा दिन सकिन्छ । यस अर्थमा गुणात्मक प्राविधिक शिक्षालय सञ्चालनका लागि अहिले छरपष्ट रुपमा सूचिकृत भएका सामुदायिक विद्यालयहरूको प्राविधिक धार अथवा सिटिइभिटिअन्तर्गतको प्राविधिक शिक्षा कार्यक्रमलाई बृहत् मर्जरमा लैजान जरुरी छ ।


नेपालको आर्थिक, सामाजिक पक्षलाई मध्यनजर राख्दा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् जस्तो निकायको महत्व अझै पनि उत्तिकै छ । नेपालमा निम्न तथा मध्यमस्तरीय जनशक्ति उत्पादन गर्न यो संस्थाको भूमिका अति नै अपरिहार्य हुन्छ । यस सन्दर्भमा यो संस्थालाई कसरी पुनर्संरचना गर्ने यसबाट ‘कम्पिटेेेेन्ट’ प्राविधिक तथा व्यावसायिक जनशक्ति कसरी उत्पादन गर्ने अनि यसलाई प्रादेशिक संरचनाअनुसार कसरी व्यवस्थित गर्ने भन्नेबारेमा गहन छलफल र कार्यान्वयन हुन जरुरी छ । ३२ वर्षसम्म अनुभव र लालनपालन पोषण गरी हुर्काएको संस्थालाई कसरी परिष्कृत गर्ने भन्नेतर्फ अघि बढ्दा नेपालको प्राविधिक तथा व्यावसायिक शिक्षामा मद्दत पुग्न जान्छ । यति भनिरहँदा प्राविधिक तथा व्यावसायिक शिक्षालाई अझ गुणात्मक र व्यवस्थित बनाउन भर्खरै स्वीकृत भएको राष्ट्रिय शिक्षा मापन प्रारूपअन्तर्गत ‘प्राविधिक तथा व्यावसायिक शिक्षा मापन प्रारूप’लाई व्यवस्थित रुपमा प्रयोगमा ल्याउनका लागि सिटिइभिटिलाई अझ परिष्कृत, स्वायत्त र व्यवसायिक संस्थाको रुपमा अघि बढाउनु आजको आवश्यकता हो ।


नेपालको परिवर्तित राजनीतिक संरचनाअनुसार शैक्षिक संस्थाहरूको सञ्चालन स्थानीय तहबाट हुने भएकाले सिटिइभिटिले पनि सोहीअनुरुप आफ्नो संरचना परिणत गर्न जरुरी छ । केन्द्रीय सिटिइभिटिले नियमनकारी निकायको रुपमा गुणात्मक सुनिश्चिततालाई र बजारको मागअनुसार नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षाको विकास अघि बढाउने कार्यमा केन्द्रित हुन जरुरी छ । बन्दै गरेको नयाँ प्राविधिक तथा व्यावसायिक शिक्षा ऐनमा विभिन्न मन्त्रालयहरुमा छरिएर रहेको सीपमूलक तालिम कार्यक्रमहरुलाई एउटै छातामा ल्याउने यो सुवर्ण अवसर पनि हो, जसबाट नेपालमा एकै किसिमको पाठ्यक्रम, एउटै स्तर र राष्ट्रिय व्यावसायिक शिक्षा मापन प्रणालीअनुरुपका कार्यक्रमहरु संचालनमा सहजता आउँछ ।


(लेखक, कोलम्बो प्लान स्टाफ कलेजका महानिर्देशक तथा सिटिइभिटिका पूर्व सदस्यसचिव हुनुहुन्छ । )

प्रमुख समाचार

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...

पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक पाठ्यवस्तु समायोजन ढाँचा २०७७ सार्वजनिक

पाठ्यक्रम विकास केन्द्रले कोभिड—१९ महामारीमा सिकाइ सहजीकरणका लागि ‘पाठ्यवस्तु समायोजन ढाँचा २०७७’ सार्वजनिक गरेको छ । शिक्षा, विज्ञा ...

निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु निजी विद्यालयले अभिभावकबाट ३० प्रतिशतभन्दा बढी शुल्क लिन मिल्दैनः पूर्व शिक्षामन्त्रीहरु

शिक्षाविज्ञको प्रश्न–संविधानमा निःशुल्क लेख्ने, सरकारचाहिँ शुल्क उठा भनेर निर्देशिका बनाउने ? पूर्व शिक्षामन्त्रीहरु र शिक्षाविद्हरुले वैकल्पिक ...