२०७८ कार्त्तिक ४ गते / 21st Oct 2021, Thursday
investment investment

कसीमा गुरु पूर्णिमाको गरिमा

 'गुरु ब्रह्मा, गुरु विष्णु, गुरु देवो महेश्वर,

गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नमः'

 

(गुरु नेै ब्रह्मा, गुरु नै विष्णु अनि गुरु नै शंकर भगवान् हुन्, गुरु नै साक्षात परब्रम्हा हुन्, यस्ता गुरुलाई म नमस्कार गर्दछु । )

 

वेदको रचियता कृष्ण द्वैपायन व्यास जन्मेको आषाढ पूर्णिमाको दिनमा गुरुहरुको सम्झना र पूजा गरिन्छ । गुरुलाई देवता र पिता समान सम्मान दिने हाम्रो संस्कार र संस्कृति हो । पौराणिक कालदेखि नै गुरु अर्थात् शिक्षकको महिमा अतुलनीय रहँदै आयो । संस्कृतमा ‘गु’ भनेको अन्धकार र ‘रु’ को अर्थ उज्यालो अर्थात् अज्ञान रुपि अन्धकारबाट चेतनास्तर वृद्धि गरी उज्यालोतिर लैजानु हो । पौराणिक कालको जस्तो गुरु–शिष्यको सम्बन्धमा आत्मियता र समर्पणको भावना पाउनु अहिले दुर्लभ नै मानिन्छ । गुरु–शिष्यको सम्बन्ध सौहाद्र्रताभन्दा पनि कृतिमपन बढी देखिने गरेको छ । गुरु पूर्णिमाको महिमालाई आत्मसात गर्नुभन्दा पनि कर्मकाण्डी पाराले मनाउनु्ले यसको गरिमा घटेको महशूस हुन्छ ।

 

गुरु पूर्णिमाको महिमा र गरिमा गुरुको आचरण, विचरण र उच्च नैतिकतामा मात्रै फस्टाउँदै र निष्कलंक रहने कुरामा दुईमत छैन । परम्परागत गुरु–शिष्यबीचको सुमधुर र सौहाद्र्र सम्बन्ध अहिलेका शिक्षक र विद्यार्थीले अनुशरण नगरेको विभिन्न निन्दनीय घट्नाले पुष्टि गर्छ । अचेल विद्यार्थीले शिक्षकलाई अपमान, हातपात गर्ने अनि कालोमसो दल्नेसम्मका निन्दनीय कार्यहरु सामान्य बन्दै जानु गुणस्तरीय र संस्कारयुक्त शिक्षाको लागि शुभसंकेत होइन ।

 

अहिले गुरु भन्नाले पुरेत र शिक्षक/प्रशिक्षकलाई बुझाउँछ । यहाँ गुरुलाई शिक्षकको रुपमा प्रस्तुत गरिएको छ । वर्तमानमा कतिपय शिक्षकले सम्मानभन्दा पनि सम्पत्तिलाई महत्व दिने प्रचलन हावी भएकाले शिक्षण पेशा अन्यको तुलनामा उपेक्षित हुन गएको गुनासो गर्नेको कमी छैन । डाक्टर, इञ्जिनियर, वकिल, प्रशासक, राजनीतिज्ञ आदि उत्पादन गर्ने महान् शिक्षण पेशालाई कम आँक्नु विवेकहीनता हो । त्यस्तै स्वयं शिक्षकबाट पनि मर्यादित शिक्षण पेशालाई उपहास हुनेगरी आचारसंहिताविपरित कार्य गरेर आफ्नो प्रतिष्ठा र गरिमामा खोट लगाउने कामप्रति उद्दत रहनु गुरु गरिमाको लागि शुभसंकेत होइन । शिक्षक र शिक्षण पेशाको गरिमालाई निष्कलंक राख्न शिक्षकको आचरण, आहारविहारको अहम् भूमिका रहन्छ नै । गुरुपूर्णिमालाई फूलमाला खादाको सामान्य सम्मानको कर्मकाण्डी मात्र नबनाएर शैक्षिक गुणस्तरलाई उन्नत बनाउन शिक्षक, विद्यार्थी र व्यवस्थापनले प्रण गर्ने दिनको रुपमा मनाउन सके मात्र गुरुपूर्णिमाको सार्थकता बढ्नेछ ।

 

अचेल शिक्षाको गुणस्तरबारे चर्चा बाक्लै हुने गरेको छ । गुरुस्तर गुणस्तर एकअर्कामा अन्तरसम्बन्धित छन् । भनाइ पनि छ, कुनै पनि विद्यालय शिक्षकभन्दा राम्रो हुन सक्दैन । अर्थात्, शिक्षक राम्रो भए विद्यालय पनि स्वतः राम्रो हुन्छ । शिक्षण सिकाइ क्रियाकलापलाई उपलब्धिमूलक बनाउन शिक्षकको पेशागत दक्षता तथा निष्ठापूर्वक समर्पणको भावनाले प्रमुख भूमिका खेल्दछ । गुणस्तरीय शिक्षाको लागि शिक्षण सिकाइ क्रियाकलाप पनि गुणस्तरीय हुनु पर्छ । साधन–स्रोतको उपलब्धता तथा त्यसको वैज्ञानिक व्यवस्थापनलाई गुणस्तरीय शिक्षणको लागि नजरअन्दाज गर्न सकिन्न । जसको लागि प्रतिभाशाली जाँगरिलो पेशाप्रति समर्पित उत्साही शिक्षक अपरिहार्य हुन्छ । साथै शिक्षण पेशामा प्रवेश गरिसकेका जनशक्तिलाई हौसला प्रदान गर्न उनीहरुमा भएको मौजुदा ज्ञान सीपलाई परिस्कृत र पारंगत गर्दै सक्षमता ल्याउन समयानुकूल तालिम तथा प्रशिक्षण निरन्तर हुनु आवश्यक छ ।

 

शिक्षक स्वयंले पेशागत उत्कृष्टता हासिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निष्कलंकता, निस्वार्थ, नियमितता, नीतिज्ञ, निसंकोच, निर्दिष्टता) जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नु पर्छ ।

शिक्षकलाई पेशाप्रति समर्पित र जाँगरिलो बनाउने खालका रणनीति अवलम्बन गर्न राज्य चुक्नु हुन्न । नियमित र पारदर्शी अनुगमन निरीक्षणका आधारमा पुरस्कार र दण्डको व्यवस्थाले शिक्षकमा जाँगर, उत्साह र ऊर्जा थप्ने काम गर्छ । शिक्षक स्वयंले पेशागत उत्कृष्टता हासिल गर्न समग्रमा नौ नि (निष्पक्षता, निष्ठता, निर्भिकता, निष्कलंकता, निस्वार्थ, नियमितता, नीतिज्ञ, निसंकोच, निर्दिष्टता) जस्ता आधारभूत गुणलाई आत्मसात् गरेर व्यवहारमा उतार्नु पर्छ ।


विद्यालयलाई विद्यार्थीका लागि मात्रै सिक्ने थलो नभएर शिक्षकको ज्ञानको दायरालाई फराकिलो बनाउनेगरी सिक्ने थलोको रुपमा विकसित गरिनु पर्छ । शिक्षक ज्ञान, सीप, अभिवृत्तिबाट कहिल्यै बुढो हुँदैन । अतः निरन्तर नवीन कुरालाई सिक्ने/सिकाउने भावनाबाट प्रेरित हुनु पर्छ । शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षकको अहम् भूमिका हुने हुँदा उनीहरुको कार्यगत क्षमता, लगनशीलता तथा पेशाप्रति समर्पणमा उर्जा थप्न पेशागत सुरक्षा र सम्मानको पनि उत्तिकै खाँचो रहन्छ ।



शिक्षण पेशामा प्रवेश गर्न तथा पेशागत सुरक्षाको लागि कतिपय अवस्थामा व्यवस्थापन समितिप्रति उत्तरदायी हुनुपर्ने बाध्यता छ । व्यवस्थापन समितिका पदाधिकारी लगभग सबै प्रत्यक्ष रुपमा कुनै न कुनै राजनीतिक दलको सदस्यता लिएको कारणबाट शिक्षकप्रति गरिने व्यवहारमा निष्पक्षता हुन चुकेको गुनासो सुन्न पाइन्छ । शिक्षक तथा कर्मचारीको वृत्ति विकासमा पराक्रम गर्नेभन्दा परिक्रमा गर्नेको हैसियत बढेको तितो सत्य हो । यसरी शिक्षकको पेशागत मर्यादामा विनाकारण पूर्वग्राही ढङ्गबाट आँच पुर्याउने व्यवस्थापन पदाधिकारीलाई सचेत पार्न तथा आफ्नो तीनवर्षे कार्यकालको लागि विद्यालय विकासको कार्ययोजना बनाउन अभिमुखीकरण गोष्ठी सञ्चालन गर्नु पर्छ । जानी–जानी पदीय हैसियतलाई दुरुपयोग गर्नेलाई कानूनी दायरामा ल्याउनसके शिक्षकमा स्वाभिमानपूर्वक आफ्नो पेशागत धर्म निर्वाह गर्न उत्साही बनाउनेछ । शिक्षक नियुक्ति प्रक्रियाको लागि केन्द्रीयस्तरमा संवैधानिक शिक्षक सेवा आयोग र शिक्षकको कानुनी उपचारको लागि छुट्टै न्यायालयको व्यवस्था भएमा शिक्षण पेशामा दक्ष जनशक्तिको आकर्षण अझ बढ्नेछ ।

 

शिक्षकको पेशागत दक्षतालाई विद्यार्थीको उपलब्धीसँग दाँजेर सोहीअनुसार पुरस्कार र दण्डको व्यवस्था पारदर्शिरुपमा गर्न सके गुणस्तर कायम गर्न होस्टेमा हैंसे हुनेछ । विद्यार्थीले ६ घण्टा मात्रै विद्यालयमा बिताउने र बाँकी १८ घण्टा घर–परिवारमा नै बिताउने गर्छन् । साथै, बालबालिकाको लागि घर–परिवार पहिलो विद्यालय भएकोले त्यहाँको वातावरण पनि पढ्ने तथा शैक्षिक सामग्रीको पर्याप्तता लगायत अन्य पक्षको छलफल र सहकार्य गर्न शिक्षकले अभिभावकसँग निरन्तर सम्पर्क राखी चिरञ्जीवि सौहार्दता कायम राख्नाले पनि शैक्षिक उपलब्धिलाई उच्च बनाउन टेवा पुग्न जान्छ ।

 

विद्यालयको शैक्षिक कार्यक्रमलाई व्यवस्थित गदैैै सबै शिक्षकको सल्लाह र सहमतिमा वार्षिक शैक्षिक क्यालेण्डर बनाइनु पर्छ । त्यसको अनुसरण भए/ नभएको अनुगमन निरीक्षण प्रअ तथा व्यवस्थापनले गर्नु पर्छ । विद्यमान ऐन/नियममा भए अनुसार कम्तीमा २२० दिन विद्यालय खोली पठनपाठन गर्ने वातावरण बनाउन सञ्चालक र सेवाग्राही सजग रहनु पर्छ । त्यस्तै, विद्यालयमा अनुशासित एवं मर्यादित वातावरण बनाउन आचारसंहिता बनाई लागू गरिनु पर्छ । विद्यालयलाई बन्द–हड्तालमुक्त क्षेत्र घोषणा गरी त्यसको कडाइका साथ पालना गर्न समर्थन जुटाउनु पर्छ ।

 

विद्यालयको हरेक कार्यक्रम विद्यार्थीको हितलाई उच्च प्राथमिकता दिएर बनाइनु पर्छ । विद्यार्थी घरबाट भागेर विद्यालय आउने चित्ताकार्षक रोचक रतिनेखालको वातावरण हुनु पर्छ । शिक्षाकर्मीहरु विद्यार्थीप्रति उत्तरदायी हुनु पर्छ । उनीहरु नै रोजगारदाता हुन् भन्ने यथार्थलाई बिर्सनु हुँदैन । किनकि, विद्यार्थी भएको कारणले विद्यालय खुल्ने र शिक्षा क्षेत्रमा रोजगार सिर्जना हुने भएकोले विद्यार्थीलाई प्रमुख रोजगारदाताको रुपमा व्यवहार गरिनु पर्छ । विद्यार्थी वनस्पतिको एकदाना बीऊ जस्तै हो, त्यसैले यदि उपयुक्त मलजल हावापानी पाएमा फस्टाउँछ । त्यस्तै विद्यालयमा पनि बालबालिकाको अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने वातावरण बनाउनसके भोलिको योग्य नागरिक बनाउन सकिन्छ । विद्यार्थीलाई माछा मारेर खुवाउनुको सट्टा माछा मार्न सिकाउने स्वावलम्बी पौरखी खालको शिक्षा दिइनु पर्छ । गुरुको गरिमा शिष्यले प्राप्त गर्ने शिक्षा र संस्कारमा भर पर्ने वास्तविकतालाई मध्य नजर राखेर स्वयं शिक्षक, सरकार र सरोकार पक्ष संवेदनशील र चनाखो रहनु बुद्धिमानी ठहर्छ ।

 

karki.babukaji@yahoo.com

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...