२०७७ साउन २७ गते / 11th Aug 2020, Tuesday
investment investment

ऐनको बाधा अड्काऊ फुकाएर परीक्षाको समस्या समाधान गरिनेछ : शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षा ऐनको बाधा अड्काऊ फुकाएर परीक्षामा देखिएका समस्या समाधान खोजिने बताउनुभएको छ ।


उहाँले एसइइबारे तत्कालका लागि मन्त्रिपरिषद्ले निर्णय गरेपनि स्थायी समाधान भने शिक्षा ऐनबाटै हुने स्पष्ट पार्नुभएको छ ।


शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिइ) नेपालद्वारा मंगलबार शिक्षाका समसामयिक विषयमा गरिएको साक्षतकार कार्यक्रममा मन्त्री पोखरेलले भन्नुभयो, ‘क्याबिनेटले एसइइको सम्बोधन गरेको हो । स्थायी रुपमा सम्बोधन गर्न नयाँ ऐनअनुसार नै गर्नुपर्ने हुन्छ ।’ नयाँ शिक्षा ऐनका निम्ति मस्यौदा बनेतापनि कोरोना महामारीले गर्दा अहिले त्यसलाई संसदमा प्रस्तुत गर्न नसकिएको उहाँको भनाइ छ ।


मन्त्री पोखरेलले कक्षा ११ को नतिजा पनि एसइइको जस्तै विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा गरिने र यसका लागि आवश्यक तयारी भइरहेको जानकारी दिनुभयो । ‘विद्यालयकै मूल्याङ्कनका आधारमा कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिइसकेको छ,’ उहाँले भन्नुभयो । यस्तै, कक्षा १२ को परीक्षा भने गर्नैपर्ने भएकाले अरु विकल्पमा आफू नलागेको उहाँले प्रष्ट्याउनुभयो ।


ऐनकै सन्दर्भ जोड्दै मन्त्री पोखरेलले हाल उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐनका विधेयकमा अर्थ मन्त्रालयबाट रायसहित सहमति आइसकेकाले छिट्टै कानून मन्त्रालयमा पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।


शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही असार १ गतेदेखि लागू गरिरहेको वैकल्पिक सिकाइ सहजीकरण कार्यान्वयन निर्देशिका २०७७ को प्रभावकारी क्रियान्वयन, स्थगित एसइइका विद्यार्थीको विद्यालयबाटै गरिने आन्तरिक मूल्याङ्कन एवं प्रमाणीकरण, यसका लागि शिक्षा ऐन २०२८ को संशोधन वा नयाँ संघीय शिक्षा ऐन जारी गर्नुपर्ने कि नपर्ने र निजी विद्यालय संगठनहरुले अभिभावकलाई शुल्क तिर्न गरिरहेका ताकेतासम्बन्धी प्रष्ट पार्न मन्त्री पोखरेललाई साक्षत्कारमा आग्रह गरिएको थियो ।


सिकाइ सहजीकरण कार्यान्वयन निर्देशिकाका सम्बन्धमा मन्त्री पोखरेलले यसको प्रभावकारिता अध्ययन भइरहेको बताउनुभयो । निर्देशिकाअनुसार रेडियो, टेलिभिजन तथा अनलाइन/अफलाइनमार्फत् वैकल्पिक शिक्षण सिकाइ भइरहेको र यसमा विद्यार्थीको पहुँच पुगे/नपुगेको अध्ययन गरेर १५ दिन पछि नयाँ रणनीति अपनाइने उहाँले सुनाउनुभयो । ‘तर, १५ दिनमा अहिले भएको निर्देशिका बदल्ने भन्ने होइन । हाम्रो कुरा एकजना पनि बच्चा नछुटुन् भन्ने हो, पहिला खास तथ्याङ्क लिऔं,’ मन्त्री पोखरेलको भनाइ थियो । अझै पनि २३ लाख ५७ हजार बालबालिकाको कुनै पनि मिडियामा पहुँच नभएको तथ्याङ्क शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क छ ।


पठनपाठनकै सन्दर्भमा मन्त्री पोखरेलले आउँदो दशैंसम्म वैकल्पिक शिक्षण गर्ने र सकेसम्म विद्यालय नै खोल्नेगरी ‘कन्टिन्जेन्सी प्लान’ बनाएर अघि बढिरहेको तर कोरोनाको महामारीको रुप बदलिएकाले नयाँ योजना बनाउनुपर्ने अवस्था आएको बताउनुभयो । स्कूल तत्कालै नखुल्ने प्रष्ट्याउँदे उहाँले भन्नुभयो, ‘८०–८४ दिनमा स्कूल खुल्न सक्छन् भन्ने हाम्रो बुझाई थियो । अब दशैंपछिको अवधिका लागि पनि प्लान ए, वी र सी बनिरहेको छ । अझ, स्कूलहरुमा क्वारेन्टाइन बढिरहेका बेला निर्मलीकरण गर्न पनि समय लाग्छ ।’


मन्त्री पोखरेलले असार ८ गतेसम्मको तथ्याङ्कअनुसार ४ हजार ५०९ वटा विद्यालय क्वारेन्टाइनमा रहेको र छिट्टै विद्यालय खुल्न नसक्ने जनाउनुभयो ।


सिकाइको क्षति हुन नदिने तर विद्यार्थीलाई पढाइमा जोडिरहन सिकाइ सहजीकरण निर्देशिका ल्याइएको पनि उहाँले स्पष्ट पार्नुभयो ।


मन्त्री पोखरेलले जोखिममा परेका बालबालिकाका विषयमा छलफल भइरहेको बताउनुभयो ।


नेपाल शिक्षक महासंघका अध्यक्ष बाबुराम थापाले भने ऐन संशोधन नभई क्याबिनेटको निर्णयका भरमा नहुने बताउनुभयो । उहाँले शिक्षा ऐन २०२८ को ४ ‘ट’ संशोधन गर्न जरुरी रहेको सुझाउँदै यसो नगरे कसैले उजूरी दियो भने विद्यालयले गर्ने विद्यार्थीको आन्तरिक मूल्याङ्कनको ‘भ्यालिडिटि’मा प्रश्न उठ्न सक्छ भन्नुभयो । यदि शिक्षा ऐन तत्काल ल्याउन सम्भव नभए शिक्षा नियमावलीमार्फत् पनि काम गर्न सकिने उहाँको सुझाब थियो ।


वरिष्ठ पत्रकार राजेन्द्र दाहालले शिक्षण सिकाइको मुख्य कर्ता विद्यार्थी–शिक्षक हुन् र अरु सहजकर्ता भनेका अरु व्यक्ति भएकाले शिक्षा मन्त्रालयले मात्र काँध थाप्नुभन्दा थल नै जिम्मेवारी दिएर सिकाइ सहजीकरण निर्देशिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कोरोनाको आधारभूत मापदण्ड अपनाएर शिक्षक र अभिभावकलाई नै जिम्मा किन नदिने भनी प्रश्न गर्नुभयो । उहाँको सुझाब छ, ‘अहिलेसम्म अझै पनि हजारौं विद्यालय छन्, जहाँ बाहिरका मान्छे पुग्दैनन् । त्यहाँ मापदण्ड प्रयोग गरेर दूरी प्रयोग गरेर विद्यालय चलाउन सकिन्छ । सबैतिर एकनासको अवस्था छैन । जिम्मेवारीले मर्यादा बढाउँछ । माथि बसेर होइन कि तल बसेरै गराऔं । शिक्षक/प्रअलाई नबिर्साैं ।’


पत्रकार दाहालले निजी विद्यालयलाई शिक्षा मन्त्रालयले ‘शिक्षक–कर्मचारीलाई तलब दिनु तर अभिभावकबाट पैसाचाहिँ नउठाउनु’ भन्नुले अन्यौल उत्पन्न भएको औंल्याउनुभयो । व्यंग्यात्मक सोधाई थियो, ‘यसमा बीचको शब्द छुटेको हुनु पर्छ । मन्त्रीज्यूबाट जान्न खोजेको छु । कतै टाइप गर्दा डिलेट त भएको होइन त्यो वाक्य !’


शिक्षाविद् डा. विद्यानाथ कोइरालाले वैकल्पिक शिक्षा विधिलाई पूरक बनाउनुपर्ने सुझाउनुभयो । उहाँले अहिले सञ्चालन वैकल्पिक पढाइका लागि तयार पारिएका सिकाइ सामग्री प्रभावकारी हुनेखालको नभएको बताउनुभयो ।


डा. सुशन आचार्यले विद्यालयहरु क्वारेन्टाइन बनेकाले त्रास फैलिइरहेकाले यसलाई हटाउने र शिक्षक–विद्यार्थीलाई आश्वस्त पार्ने योजना के छन् भनी प्रश्न गर्नुभयो ।


डा. षडानन्द कँडेलले छोटो समयमा शैक्षिक शत्र पूरा गर्नुपर्ने चुनौतीका बीच शिक्षकहरुलाई तालिम आवश्यक पर्ने सुझाउनुभयो । ‘विश्वमा १२५ भन्दा बढी विद्यालयले पुनः खुल्ने तयारी गर्दैछन्, हाम्रो रणनीति के ?’ शिक्षामन्त्रीलाई उहाँको सोधाई थियो ।


हालै प्याब्सन र एन प्याब्सनले शुल्क तिर्न अभिभावकलाई गरेको अपीलप्रति मन्त्री पोखरेलले विमति जनाउनुभयो । निजी विद्यालयहरुले आफैं निर्णय गर्न नसक्ने भन्दै मन्त्री पोखरेलले कोभिड–१९ हेर्ने समिति र मन्त्रिपरिषद्मा लगी समस्या समाधानको निर्णय गराउने वचन दिनुभयो । उहाँले निजी विद्यालयहरुसाग वार्ता र छलफलका माध्यमबाट समाधान खोजिने पनि प्रष्ट्याउनुभयो ।


बैंकमा ऋण परिरहेको र शिक्षकलाई तलब खुवाउन नपाएकाले अभिभावकसँग शुल्क लिन लागिएको प्याब्सन/एन प्याब्सनले बताउँदै आएका छन् । यो कुरामा आफू प्रष्ट भएको भन्दै मन्त्री पोखरेलले राष्ट्र बैंकसँग छलफल गराएकोसमेत जानकारी दिनुभयो । निजी विद्यालयमा शिक्षकलाई काम गर्ने वातावरण बनाउनैपर्ने र स्थानीय सरकारले पनि यसमा पहल गर्नुपर्नेमा उहाँको जोड छ ।


साक्षतकारमा एनसिइका अध्यक्ष डिल्लीराम सुवेदी, शिक्षा अभियन्ता डा. लक्ष्मी पौडेल, विद्यालय व्यवस्थापन समिति महासंघका अध्यक्ष कृष्ण थापा, सिजपका मधु दवाडी, एनसिई वागमति प्रदेश संयोजक प्रकाश खतिवडालगायतले मन्त्रीसँग जिज्ञासा राख्नुभएको थियो ।

कार्यक्रमको भिडियो
 

प्रमुख समाचार

 लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन लकडाउन डायरी निबन्ध लेख्ने उत्कृष्ट १० विद्यार्थीसँग महानायक राजेश हमालको अन्तरमन्थन

‘सूर्य गुराँसे रङ्गमा पोतिएर आफ्ना कोमल स्पर्शहरु छर्न आतुर थियो र पहाडका अन्तराकुन्तराबाट चिहाइरहेको थियो । चराचुरुङ्गीहरु चाचा र चुचु गर्दै रम ...

‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’ ‘एसइइको आन्तरिक मूल्याङ्कन प्रक्रियामा स्थानीय तहलाई भूमिका नदिनु दुःखद’

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ)को आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशनको तयारी भइरहँदा स्थानीय तहको भूमिकालाई वेवास्ता गरिएको भन्दै जनप ...

२०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै २०७६ सालको एसइइ नतिजा आउँदो साता प्रकाशन गरिँदै

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा आउँदो साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा १०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले य ...