२०७७ असोज ६ गते / 22nd Sep 2020, Tuesday
investment investment

‘सेतो छडीवाली’ प्रेरणादायी आश्मा

  • इन्द्रकुमार श्रेष्ठ
  • २०७६ कार्त्तिक १९ गते
  • 1475
  • फिचर

एक महिनाभन्दा केही बढी नै भयो होला । फेसबुकमा एकजना Ma Dibya भन्ने छोरी मान्छेको रिक्वेस्ट आयो । सर्सर्ती प्रोफाइल हेरेँ र ठीकै लागेर कन्फर्म गरेँ । त्यसपछि मेसेन्जरमा मैले आफ्नो परिचय दिएँ । उहाँले पनि परिचय दिनुभयो । कहिलेकाहीँ छोटो कुराकानी पनि हुन थाल्यो । फोनमा पनि बातचीत भयो । उहाँले सामाजिक सेवा आफ्नो रुचि भएको बताउनुभयो । जडीबुटी भन्ने ठाउँमा उहाँको आफ्नै सङ्गीत विद्यालय भएको पनि थाहा भयो । बेलाबेलामा उहाँका पोस्टहरू पनि हेरियो । त्यहाँ कहिले साहित्यिक कार्यक्रममा सहभागी भएका र कहिले फरक क्षमताका बालबालिकासँग रमाइरहेका गतिविधिहरू देख्न पाइन्थ्यो । मेसेन्जरमा उहाँले एउटा लिङ्क पनि पठाउनुभएको थियो । गाउँमा नेट कमजोर भएको हुँदा त्यो खोलेर हेर्नचाहिँ सकिएन । उहाँले दशैंको समय, तिनै बालबालिकासँग बिताएको तस्बिर पनि हेर्न पाइयो ।


यत्तिका भइसकेपछि मैले उहाँलाई साह्रै सक्रिय र असल मान्छे ठानेँ । उहाँप्रति हार्दिक श्रद्धाभाव पनि जाग्यो । अनि के मन लागेर हो, एकदिन उहाँको एउटा तस्बिर अपलोड गरी ‘उहाँको अनुहारमात्र राम्रो होइन, विचार, भावना, व्यवहार र योजना पनि अनुकरणीय छन्’ लेखेर पोस्ट गरेँ । त्यसपछि त्यो तस्बिरका बारेमा धेरैको जिज्ञासापूर्ण कमेन्ट आयो । मैले उत्तरमा लेखेँ, ‘मान्छे त म पनि राम्ररी चिन्दिनँ । तर उहाँका कामहरू भने मलाई ज्यादै मन पर्छन् ।’


हो, मलाई उहाँको काम मन परेर भेट्न हतार लागेको थियो । उपत्यका गएको बेला मेरो बसाइ भक्तपुर हुने भएकोले जडीबुटी नजिक पनि पर्थ्यो । यो कुरा उहाँलाई बताउँदा उहाँले पनि सजिलै स्वीकृति दिनुभयो ।


कात्तिक ३ गते उपत्यका आएँ । अनि भोलिपल्ट होला, मेसेन्जरमा भनेँ, ‘मिस, भक्तपुरबाट नमस्कार !’ त्यसको भोलिपल्ट उहाँको फोन आयो । नम्बर सेभ नगरेको हुँदा उहाँले नै भन्नुभयो, ‘म आश्मा हो सर ! हामी फेसबुकमा कुरा गरिरहन्थ्यौं नि ! तपाइँ कहिले आउने त यता ?’ मैले जानिराखेको भन्दा फरक नाम आएको हुँदा म थोरै अलमलिएँ । तर साहित्यकारहरूले राख्ने गरेको उपनाम सम्झेर सामान्य ठानेँ । पछि थाहा भयो, उहाँको खास नाम आश्मा अर्याल र ‘मा दिव्या’चाहिँ ओशोको ध्यानमा जाँदा गुरुहरूले राखिदिएको नाम रहेछ ।


मैले ‘फोन गरेर आउँछु’ भनेँ । बिहीबार काठमाडौंतिर जाँदा, ‘फुर्सद भए यता पसेर जानुहोला’ भन्दै हुनुहुन्थ्यो । जाँदा जानैको हतार भयो । आउँदा पनि अबेला भयो । त्यतिखेर उहाँको स्कूलै बिदा भइसकेको थियो होला । ढिला भयो । अनि ८ गते शुक्रबार फोन गर्दा उहाँले ‘आज दिनभरी मलाई फुर्सदै छ, आउनूस्’ भन्नुभयो ।


बिहानको खाना खाएर हामी बाबुछोरा उहाँले भनेबमोजिम जडीबुटीको कामख्या पेट्रोल पम्पनजिकै पुग्दा बिहानको ११.०० बजेको थियो । फोन गर्यौं । एकैछिनमा एकजना भाई हामीलाई लिन आउनुभयो । सडकनजिकैको घर । दुईतला भर्याङ उक्लिनासाथ पूर्वोत्तर फर्केको एउटा ठूलो कोठा आयो । चश्मा लाउनुभएकी एउटी पातली शरीरकी नानी–तस्बिरमा मैले देखेकै थिएँ–ढोकासम्म आउनुभयो । भन्नुभयो, ‘सरलाई ल्यायौ त ?’

हामीलाई ल्याउने भाईले ‘ल्याएँ’ भन्नासाथ मैले पनि, ‘हामी आइपुग्यौं मिस, आउन सजिलै रहेछ’ भनेँ ।
‘हामी भन्नाले को–को सर !’ उहाँको प्रश्न थियो ।


‘हामी बाबुछोरा हौं’ भन्दै भित्र पस्यौं ।


कोठामा सामान्य कार्पेट र चकटी ओछ्याइएको थियो । कोठाभरी विभिन्न बाजाहरू (हारमोनियम, तानपुरा, तबला) थिए । किताबको सानो र्याक पनि थियो । उहाँले, ‘चकटी ओछ्याएर बसौँन सर !’ भन्नुभयो ।


हामीलाई लिन जाने भाई भने बिदा भएर हिँड्नुभयो ।


कुराकानी गर्दै जाँदा उहाँको हेराइ अलि कस्तो–कस्तो लाग्यो । अनि मैले उहाँलाई, ‘मिस, तपाइँ आँखा अलि कम देख्नुहुन्छ हो ?’ भनेर सोधेँ ।

अनि उहाँले, ‘हो त सर, म सेतो छडीवाला हुँ नि !’ भन्नुभयो ।


एकाएक उहाँको त्यस्तो उत्तर सुनेपछि मलाई किन–किन, उहाँका खुट्टामा बारम्बार ढोगौंजस्तो लाग्यो । त्यस्तो अवस्थाकी मान्छेको पनि कति सक्रियता ! कति परमार्थी भावना ! यस्तै सम्झेर त्यस्तै केही सोध्न खोज्दै थिएँ । भरे त उहाँले नै उतिखेरै भन्नुभयो, ‘धेरैले मलाई यस्तो आँखा नदेख्ने मान्छेको पनि कस्तो लगनशीलता र क्षमता भनेर आश्चर्य प्रकट गर्छन् । आँखा नदेख्नु र ममा क्षमता हुनुको के सम्बन्ध ? भन्नु त सर !’


उहाँको कुराले ममा नयाँ ज्ञानको बिजुली चम्क्यो र मेरो सम्भावित प्रश्नमा पनि टम्म बुजो लाग्यो ।


कोठाभरी थरीथरीका बाजा देखेर अनुप (छोरा)लाई रमाइलो लागेछ क्यार ! ‘एकपटक यो हारमोनियम बजाउनू न, ’ भन्यो ।


उहाँले पनि झर्को नमानीकन आफ्नो स्वर नभएको बताउँदै, हारमोनियममा सानासाना औंला चलाएर खोई कुन हो सुमधुर राग सुनाउनुभयो । यो विद्यालय खोल्नुअघि उहाँले नौ वर्ष सङ्गीत सिक्नुभएको रहेछ ।


तिहार आएकोले उहाँको विद्यालय पनि आजदेखि तीन दिनका लागि बिदा हुने रहेछ । अब मंगलबार मात्र खुल्नेगरी । हामीलाई लिन आउने एकजना भाई पनि भर्खरै गएपछि अब कोठा सुनसान थियो । मैले सोचेँ, विद्यालय बन्द गरेर उहाँ पनि घर जाने सोंचमा हुनुहुन्थ्यो होला । म आउने भएकाले यतिखेरसम्म पर्खेर बस्नुपर्यो !


दुई वर्ष सङ्गीत शिक्षकको रूपमा अन्यत्रै काम गरेपछि यो झङ्कार कला केन्द्र उहाँले नै स्थापना गरेको चाहिँ एक वर्ष भएको रहेछ । यस कला केन्द्रमा जम्मा १६ जना विद्यार्थी रहेछन् । गुरु–आमा आफू २१ वर्षकी र विद्याथीचाहिँ पाकापाका उमेरका पनि छन् रे ! तीमध्ये केहीलाई उहाँ निःशुल्क सिकाउनुहुँदो रहेछ ।


कुराहरू सिलसिलाबद्ध रूपमा भएनन् । यसो भनौं, म जानकारी लिनका लागि गएकै थिइनँ । गए पनि तयारीविनै गएको थिएँ । जथाभावी र कुनै अनावश्यक प्रश्न सोधेँ कि जस्तो पनि लाग्छ । तर जे सोधेँ, उहाँले बडो शालीन ढङ्गले बताउनुभयो ।


२०५५ साल वैशाखमा जन्मिनुभएकी आश्माको घर ललितपुरको रानीबु भन्ने ठाउँमा रहेछ । गाडीबाट ओर्लेर पनि १५ मिनेट हिँड्नुपर्ने । जन्मजात ‘लो भिजन’ । छोरीको त्यस्तो अवस्थाका बारेमा आमालाई तीन महिनामा थाहा भएको रे ! सानैदेखि पढाइमा अब्बल । सधैं फस्ट हुने । ‘च्यालेन्जिङ सिच्युएशन’ व्यहोरेर पनि पहिलेदेखि अहिलेसम्म (मूल विषयमा मानविकी स्नातक सकेर अहिले स्नातकोत्तरको तयारीमा) कलेजमा समेत टपर ।


साहित्यसँग सम्बन्धित अतिरिक्त क्रियाकलापमा सधैं पुरस्कृत हुनुभएकी । कक्षा पाँचमा पढ्दा मनकामना दर्शन गरेको अनुभव पत्रिकामा छापिएपछि लेखनमा हौसला । सात कक्षा पढ्दा नै कवितासङ्ग्रह र नौमा पढ्दा कथासङ्ग्रह प्रकाशित । ती दुबै पुस्तकहरू राष्ट्रिय स्तरमा चर्चित भएर पुरस्कृत भएका । ध्यान गुरुप्रति कृतज्ञता ज्ञापन गर्दै लेखिएको पुस्तक ‘नमेटिने डोबहरू’ पनि प्रकाशित । विवाहित महिलाको पीडालाई विषयवस्तु बनाएर लेखिँदै गरेको उहाँको उपन्यास प्रकाशोन्मुख अवस्थामा । अनुरोध स्वीकार गरेर नोबेल साकोस साहित्यिक संस्थाको आजीवन सदस्य बन्नुभएकी ।


साहित्यकारका अतिरिक्त आश्मा सफल सङ्गीतकार पनि हुनुहुन्छ । उहाँले, महेश पौडेलद्वारा रचित ‘मलमल बादलको परिधान लाऊ’ भन्ने गीतलाई आफ्नै विद्यार्थीबाट पैसा उठाई उनीहरूलाई नै गाउन लगाएर र आफैंले सङ्गीतबद्ध गरेर रेडियो नेपालबाट लाइभ रेकर्ड गराउनुभएको छ । उहाँले डकुमेन्ट्री पनि बनाउनुभएको छ ।


समाजसेवा उहाँको एउटा विशेष पाटो हो । उहाँले फरक क्षमताका विद्यार्थीका लागि शिविर सञ्चालन गर्नुभएको छ ।


६ वर्षसम्म टेलिभिजनमा कार्यक्रम चलाउनुभएकी आश्मा विभिन्न साहित्यिक कार्यक्रमको संयोजकको भूमिका निर्वाह गर्न पनि रुचाउनुहुन्छ । उहाँले Slam Poetry and Spoken Word Poetry भन्ने परियोजनामा दुई वर्षसम्म सहभागी भएर प्रशिक्षण लिनुभएको थियो । अहिले उहाँले झङ्कार कला केन्द्र र साहित्य सङ्गालो भन्ने दुईवटा युटुव च्यानल चलाउने गर्नुभएको छ । तिनमा उहाँका सङ्गीत र साहित्यिक गतिविधिहरू सुनेर/हेरेर आनन्द लिन सकिन्छ । उद्घोषण तालिम दिन कुशल आश्मालाई उत्प्रेरणा कक्षा (Motivation Class) लिनका लागि पनि धेरैले निमन्त्रणा गर्ने गरेका छन् ।


दशैंमा खसी काटिएको स्मृतिबाट प्राणीप्रति असीम माया र मासुप्रति घृणा भई गुरुबाट मन्त्र लिएर मासु खान छोड्नुभएकी आश्मा ओशोको ध्यान गर्नुहुन्छ । यसैले आफ्नो जीवन तनावरहित बनाएको उहाँको भनाइ छ ।


कुराकानी हुँदै गर्दा उहाँले, ‘सरलाई फुर्सद भए म हजूरको अन्तर्वार्ता लिन्छु’ भन्नुभयो । त्यसका लागि उहाँले तीनकुनेको एउटा क्याफेमा जान आग्रह गर्नुभयो । उहाँलाई त्यहाँसम्म छोराले पुर्याउने भयो । म हिँड्दै जाँदा आश्मा एउटा घरको ढोकाबाहिर हुनुहुन्थ्यो । उहाँले, ‘भित्र जाऊँ सर !’ भनेपछि भित्र जाँदै गर्दा उहाँले ढोका छाम्दै भन्नुभयो, ‘सर, हामी कहाँ आयौं ? बोर्ड पढ्नू त ! यो त होइन ।’ म छक्क परेँ । म अर्कै ढोकाबाट छिर्र्न खोजेको रहेछु । बोर्ड पढेर हामी भित्र छिरेपछि उहाँले नै पो, ‘हो, योचाहिँ हो । दाहिनेपट्टि भर्याङ छ । अनि तल अगाडि कोठा छ । हामीलाई अन्तर्वार्ता रेकर्ड गर्न त्यहीं उपयुक्त हुन्छ,’ भन्नुभयो । हामी त्यहीं गएर चिया पकौडा खाँदै उहाँको साहित्य सङ्गालो च्यानलका लागि अन्तर्वार्ता रेकर्ड गर्न थाल्यौं ।


अन्तर्वार्ता सिध्याएपछि छोराले उहाँलाई फेरि उहाँकै विद्यालय जडीबुटीसम्म ल्याइदियो र हामी बाबुछोरा भेट भएर फर्क्यौं ।


तिहार आएपनि मलाई अब त्यतापट्टि कुनै ध्यानै थिएन । झिलिमिली बत्तीको रूपमा मनभरि आश्माकै विचार र कामको सम्झना भइरहेको थियो । उहाँका च्यानलहरू हेरेर, कुराहरू सुनेर आनन्द लिइरहेको थिएँ । तिहार सकिनासाथ म फेरि (श्रीमती कमलासहित) उहाँको कार्यकक्षमा गएर यति कुरासँगै थप जिज्ञासाहरू पनि राखें :


तपाइँको लेखनको मूल उद्देश्य के रहन्छ ?
–आख्यान भए म त्यसमा पाठकले बुझ्न सक्ने सरलता चाहन्छु । कविता भए त्यसमा नयाँ विम्बका साथ भावनामा डुब्न चाहन्छु । पढ्दा पाठककले आफ्नै कथा हो भन्ने ठान्नुपर्यो ।


तपाइँको चर्चा कत्तिको भएको छ ?
–धेरै भएको छ । सबैजसो पत्रपत्रिकाहरूले मेरो बारेमा लेखेका छन् । रेडियोमा बोलेकी छु । टिभीमा अन्तर्वार्ता दिएकी छु । धेरैजना साहित्यकारहरूसँग मेरो चिनजान छ । अझै मेरो चर्चा हुँदैछ ।


तपाइँका कुनै अवस्मिरणीय क्षण भए बताइदिनूस् न !
–अविस्मरणीय क्षण भन्ने कुरा कुनै दुःख र सुखबाट उत्पन्न हुने कुरा हो । अति दुःखी र अति उत्तेजित हुँदा त्यसको अनुभव हुन्छ । तर मलाई त्यस्तो अनुभूति नै हुँदैन । त्यसैले मेरा लागि कुनै त्यस्तो क्षण छैन । म हरेक कुरालाई सहज भावले लिने गर्छु ।


तपाइँलाई कसैले सहयोग गर्न चाह्यो भने त्यो लिनुहुन्छ ?
–मैले सकेको र मेरो क्षमताले भ्याएको काम म कतिपय अवस्थामा स्वयंसेवकको रूपमा पनि गर्छु । तर जति काम म गरिरहेकी छु र गर्ने विचार छ, ती मेरा लागि नभएर, यही समाजका अरूका लागि भएको हुँदा मलाई सहयोगको खाँचो छ । त्यस्ता हातहरू भए म स्वीकार्छु ।


तपाइँका भावी योजना केही छन् कि !
–मलाई एउटा कलाको विद्यालय खोल्ने इच्छा छ, जहाँ फरक क्षमता भएका बालबालिकाले विज्ञान, कला र अध्यात्मका बारेमा एकै ठाउँमा सिक्न पाऊन् । यो मैले देखेको सपना हो । मैले पूरा गर्न सकिनँ भने कसै न कसैले गर्छ ।


धन्य आश्मा ! तपाईँबाट आजको पुस्ताले धेरै प्रेरणा पाउन सक्छ । तपाईँका भावी योजना र सपना हाम्रा पनि हुन् ।

 

प्रमुख समाचार

अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस  अब हरेक फागुन ५ गते शिक्षा पत्रकारिता दिवस 

शिक्षा पत्रकार समूहको २१ औं साधारणसभा सम्पन्न शिक्षा पत्रकार समूहले हरेक फागुन ५ गते ‘शिक्षा पत्रकारिता दिवस’ मनाउने भएको छ । समूहको आज सो ...

बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा बालबालिकालाई सिकाइमा जोड्ने हो भने रेडियो र टेलिभिजन किनेर अभिभावकलाई देऊ–गगन थापा

संघीय सांसद तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले हाल केन्द्रबाट जारी विद्यार्थी सिकाइ निर्देशिका अनुसार बालबालिकालाई ...

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादमा, संवैधानिक प्रश्न उठ्यो

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विवादै विवादमा परेको छ । निर्देशिका जारी गर्नु पनि संघद्वा ...