२०७८ मंसिर ११ गते / 27th Nov 2021, Saturday
investment investment

अनिर्णित नियमावली, अक्षम शिक्षामन्त्री


शिक्षा नियमावलीको मस्यौदा पारितका लागि मन्त्रिपरिषद्मा दर्ता भएको छ । तर पारित हुने/नहुने अन्यौल छ । मुलुक संघीय संरचनमा गएको भएपनि शिक्षा नियमालीको मस्यौदा केन्द्रिकृत भएको भन्दै मन्त्रिपरिषद्बाट पुनः फिर्ता आउने सम्भावना पनि देखिन्छ । शिक्षा ऐन जारी भएको १० महिनापछि त्यसको कार्यान्वयनका नियमावली बनाएर मन्त्रिपरिषद्सम्म पु¥याउन शिक्षा मन्त्रालयले १० महिना लगायो । तर पनि नियमावली मन्त्रिपरिषद्ले पारित गरिहाल्ने छाँट देखिँदैन । जबकी ऐन आएको एक वर्षसम्म नियमाली जारी नभए कार्यान्वयनबिनै ऐन नै खारेज हुने कानूनी व्यवस्था रहेको छ । ऐन जारी भएपछि नियमावली जारी गर्न निरन्तर सरोकारवालाहरुको दबाब रहेपनि शिक्षा मन्त्रालयको ढिलासुस्तीले गर्दा नियमावली मन्त्रिपरिषद् पुग्नै १० महिना लाग्यो ।


तयारीले के देखाउँछ भने शिक्षा मन्त्रालयले नियमावली निर्माण र यसको प्रक्रिया पुरा गर्न महत्व नै दिएन । ऐन जारी भएलगत्तै ल्याउनुपर्ने नियमावलीलाई १० महिनासम्म ‘पण्डोराको बक्स’ बनाइयो । शिक्षा मन्त्रालयको कर्मचारी संयन्त्र, काम गर्ने ढङ्ग र नेतृत्वको कमजोरीकै कारण यो अवस्था आएको हो । शिक्षा मन्त्रालय नै संशोधित शिक्षा ऐन लागू गर्न नचाहेको देखिन्छ । ऐनमै व्यवस्था भएका प्रावधान जसलाई कार्यान्वयन गर्न नियमावली चाहिँदैन, त्यसको कार्यान्वयनसमेत हालसम्म हुन सकेको छैन । ऐनमै सबै व्यवस्था भएको अस्थायी शिक्षक व्यवस्थापन, विद्यालय संरचना, परीक्षालगायतका विषय अझै कार्यान्वयन गरिएनन् । हालसम्म अस्थायी शिक्षकहरुका लागि आन्तरिक प्रतियोगिता तथा सुविधाको प्रक्रिया शुरु नगरिनुले मन्त्रालय र यसको नेतृत्वले ऐन जारी गर्न नचाहेकै देखिन्छ ।


नियमावली ल्याउन ढिलाई मात्रै भएन, नियमावली नै नचाहिने ऐनका कतिपय विषय सम्बोधन गर्न पनि चुक्नुले मन्त्रालय नेतृत्वको कार्यक्षमता र कार्यशैलीमाथि अवश्य प्रश्नचिन्ह खडा भएको छ । भएका ऐन लागू गर्न नसक्नुलाई अयोग्य र अक्षम मानिन्छ । विद्यालय संरचना र अस्थायी शिक्षकको व्यवस्थापनका सन्दर्भमा मन्त्रालय नेतृत्वले त्यस्तै व्यवहार प्रदर्शन गरेको छ ।


शिक्षा मन्त्रलयको शिक्षा ऐन कार्यान्वयन, नियमावली जारी, संघीयतामा शिक्षाको व्यवस्थापन तयारीलगायतका महत्वपूर्ण जिम्मेवारी छन् । मन्त्रालयले यसमा दिनरात मिहिनेत गर्नुपर्ने हो । तर, शिक्षामन्त्री भने विदेश सयरमा मस्त छन् । जबकी शिक्षा क्षेत्र नियमावलीको अभावमा अस्तव्यस्त भइरहेको छ । शिक्षा नियमावली मस्यौदा शुरुदेखि नै समस्यामा पर्दै आएको देखिन्छ । शिक्षक महासंघले शुरुदेखि नै मस्यौदाले आफ्नो धेरै माग सम्बोधन नगरेको आरोप लगाउँदै आएको छ भने निजी विद्यालयका संस्थाहरु प्याब्सन, एन प्याब्सन र हिसानले नियमावली आफूले भनेजसरी जारी हुनुपर्ने भन्दै दबाब अनि विरोधका कार्यक्रम गर्दै आएका छन् । सहमतिका लागि अर्थ र कानून मन्त्रालय पुगेको मस्यौदामा शर्तसहितको सहमति आएको अवस्था छ । जेनतेन मन्त्रिपरिषद्मा दर्ता हुन सफल भएको मस्यौदा पुनः फिर्ता गर्ने भित्री तयारी देखिएको छ, जुन दुर्भाग्यपूर्ण हो ।


हेर्दा लाग्छ, शिक्षा नियमावली कसैलाई आवश्यक छैन । राज्यको संविधान, ऐन, कानून पालन गराउने दायित्व सरकारकै हो । हाल सरकार नै संसदबट पारित शिक्षा ऐन कार्यान्वयनका लागि ल्याइएको नियमावलीको मस्यौदा जारी गरेर त्यसको कार्यान्वयनमा जान चाहिरहेको छैन । शिक्षा ऐनले विगत लामो समयदेखि जारी अस्थायी शिक्षक, विद्यालय कर्मचारीलगायतको समस्या समाधानको खाका कोरेको छ, विद्यालय संरचनामा सुधार, परीक्षा र गुणस्तर परीक्षणलाई व्यवस्थित गर्न खोजेको छ । तर, ऐन लागू नभई खारेज हुने सम्भावना बढेको छ । यदि नियमावली जारी हुन नसकेर ऐन खारेज भयो भने शिक्षामन्त्री, शिक्षाका कर्मचारीको क्षमतामाथि प्रश्नचिन्ह खडा मात्र हुने छैन, इतिहासमै खराब नजीर बस्नेछ । अक्षम भएपछि शिक्षामन्त्रीले राजीनामा दिनुको विकल्प रहँदैन । अघिल्लो सरकारले ल्याएको ऐन आवश्यक नियमावली ल्याएर लागू गर्न नसक्ने शिक्षामन्त्रीले आफ्नो अयोग्यता कहिले स्वीकार्ने र मार्ग प्रशस्त गर्ने ?

 

प्रमुख समाचार

 सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै  सिमकार्डमार्फत् सियुजी सेवा: लक्ष्य ३४ लाख विद्यार्थीमा पुर्याउने, जोडिए ५ हजार मात्रै

सरकारले कोरोना महामारीका बेला वैकल्पिक सिकाइका लागि भन्दै ३४ लाख विद्यार्थीलाई सियुजी (क्लोज युजर ग्रुप) सेवामा जोड्ने लक्ष्य राखेपनि जम्मा ५ हजार बाल ...

‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष ‘सेल्फ सेन्सरसिप’ले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने निष्कर्ष

‘सेल्फ सेन्सरसिप’ अर्थात् स्व–नियन्त्रणले कार्टुन पत्रकारिताको मर्म बच्न नसक्ने कार्टुनिष्ट तथा पत्रकारहरुले औंल्याएका छन् । कार्टुन ...

गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री गुरुत्वाकर्षण न्यूटनले पत्ता लगाए भन्ने पाठ परिवर्तन हुनु पर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुत्वाकर्षणको सिद्धान्त पश्चिमा वैज्ञानिक सर आइज्याक न्यूटनभन्दा पनि अघि पूर्वीय विद्वान तथा गणितज्ञ भाष्काराचार्यले ...