२०७६ मंसिर २८ गते / 14th Dec 2019, Saturday
investment investment

विद्यालय अटोमोवाइल जस्तै चल्नु पर्छ


सरोजकुमार पाण्डे
प्रधानाध्यापक
तिलिङ्गाटार माध्यमिक विद्यालय
धापासी, काठमाडौं

 

तिलिङ्गाटार माविको बारेमा बताइदिनुस न ?
यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्युपाहरुले टारमा आएर तारो हान्ने ठाउँको रुपमा यसको नामाकरण भएको हो । वि.सं. २०१७ सालमा पञ्चकन्या विद्यालयको रुपमा अनौपचारिक रुपमा शुरुवात भएको यस विद्यालय २०१९ सालमा नेपाल सरकारबाट यसले पञ्चकन्या प्राविको स्वीकृत पाएको हो । २०२८/०२९ सालतिर तिलिङ्गाटार नामाकरण गरेर तिलिङ्गाटार मावि बन्यो । त्यसपछि २०५०/५१ सालतिर उमावि बनेको हो ।


विद्यालय सुधारको शुरुवात कहिले भयो ?
म २०४४ सालको अन्तिमतिर यस विद्यालयमा आएको हुँ । म १० वर्ष सहायक प्रधानाध्यापक बनेर बसेँ । त्यति बेला विद्यालय काँचो ईंट्टाका जस्ताका छानो भएको सा–साना भवनमा सञ्चालित थियो । मैले २०५५ साल कात्तिक ३० बाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि २०५८ सालदेखि पुरानो भवनहरु भत्काइदिएर नयाँ भवन बनाउन शुरु गरेको हुँ । कक्षाकोठाहरु सुविधासम्पन्न बनाउँदै भौतिक सुधार गर्न शुरु गरेँ । १३५ जना विद्यार्थी र ३÷४ शिक्षक थिए । पछि विद्यार्थी र शिक्षक संख्या बढाउँदै लगेँ । अहिले लगभग १७ सय विद्यार्थी छन् । ५० कोठाको विद्यालय भवन बनाउन सफल भएका छौंं । एउटा स्थानमा इसिडि र ६ देखि १२ सम्म र अर्का स्थानमा २९ रोपनी जग्गा छ, त्यहाँ १ देखि ५ सम्म सञ्चालन गर्दै आएका छौं । त्यहाँ करिव ६०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले बडो दुःखका साथ भौतिक संरचनामा फड्को मार्न सफल भएको हो । विभिन्न सुधारका कार्यक्रम लागू गर्दा गर्दै हाल नमूना विद्यालयको रुपमा छनोट हुन सफल भएको छ ।


सुधारका लागि कस्ता–कस्ता फरक अभ्यासहरु गर्नुभयो ?
शिक्षामा निजीकरण शुरु भएपछि नेपालमा दुईखालको शिक्षा उत्पादन हुन थाल्यो । सरकारी विद्यालयहरुको स्तर पनि खस्किँदै गयो । मैले यही विद्यालयलाई निजीको जस्तै पठनपाठन अब्बल बनाउने, कक्षा ११ र १२ सञ्चालन गर्ने, यसैमा गुणस्तर कायम गर्ने भनेर संघर्ष गर्दै आएँ । समयको माग र निजी विद्यालयसँग प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय बजारमा बिक्नका लागि शुरुमा अंग्रेजी माध्यममा पठनपाठन शुरु ग¥यौं । सूचना प्रविधिको आधारमा शिक्षण सिकाइ गर्न शुरु ग¥यौं । शैक्षिक सामग्री निर्माण गरी अन्तक्र्रियात्मक विधिबाट पढाउने, छलफल र क्रियाकलापमा आधारित भएर शिक्षण सिकाइ गर्न थाल्यौं । शैक्षिकसँगै व्यवस्थापकीय पाटोलाई पनि बलियो बनाउँदै लग्यौं । हरेक विषयको विभागीय प्रमुखहरु बनायौं । शिक्षकहरुलाई विभिन्न तालिम र कार्याशालाहरु आयोजना ग¥यौं । विभिन्न राम्रा विद्यालयहरुको अनुगमन भ्रमण गरेर नयाँ कुरा सिक्यौं । विज्ञान, कम्प्यूटर ल्यावसँगै पुस्तकालयहरु अत्याधुनिकिकरण ग¥यौं । खानेपानी शौचालय व्यवस्थित ग¥यौं । त्यसपछि विद्यार्थीको विद्यालयप्रति आकर्षण बढ्न थाल्यो । हाम्रो वरिपरि लगभग ३० निजी विद्यालयहरु छन् । ती स्कूलसँग प्रतिस्पर्धी बन्दै अघि बढ्दै गयौं । ११ र १२ मा पनि ४ वटै संकाय शुरु ग¥यौं ।

अन्यभन्दा यो विद्यालयका फरक अभ्यासहरु के–के छन् ?
हामीले अंग्रेजी माध्यममा, सूचना प्रविधिमा आधारित भएर शिक्षण सिकाइ गर्दे आएका छौं । विद्यालयमा ध्यानयोग सञ्चालन गर्छौं । महर्षि फाउण्डेशनबाट भागवत् ध्यान, चेतनामा आधारित शिक्षा, गहिराइमा डुबेर अध्ययन–अध्यापन गराउँदै आएका छौं । ध्यान गराएर शिक्षक विद्यार्थीलाई तनाबमुक्त बनाउने, विद्यार्थीका आचरण सुधार्दै बानी–ब्यहोरा सुधार गर्ने सबै काम वैज्ञानिक ढंगमा गर्दै आइरहेका छौं । महर्षि फाउण्डेशनबाट यूरोप र अमेरिकामा धेरै विद्यालय सञ्चालन छन् । भारतमा मात्रै १४८ वटा महर्षि स्कूलहरु छन् । नेपालमा सरकारी विद्यालयतर्फ तिलिङ्गाटारमा मात्रै पाइलट प्रोजेक्टको रुपमा ध्यानयोगमा आधारित शिक्षा अघि बढेको छ । हामी ध्यान हल बनाएर उद्घाटनको तर्खरमा छौं । हामी दिनको २ पटक शिक्षक–विद्यार्थी ध्यान गर्छौं । यसबाट हामी शिक्षक र विद्यार्थीलाई नैतिकवान, चरित्रवान, ध्यानी र ज्ञानी बन्न मद्दत मिलेको छ । हाम्रो विद्यालयमा खानेपानीका प्लान्टहरु असाध्यै व्यवस्थित छन् । सुविधा सहुलियत र १ देखि ८ कक्षासम्म पूर्ण निःशुल्क र ९ देखि १२ मा केही सहयोग लिएर विद्यालय सञ्चालनमा छ । ३० जना मात्रै सरकारी तलब खाने र ६१ जना निजी स्रोतमा शिक्षक व्यवस्थापन गरेका छौं । विद्यालय गुणस्तरीय बनाउन हामी प्रतिस्पर्धात्मक छौं । सामुदायिक विद्यालय खस्किरहेको बेला हाम्रो विद्यालय भने राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल छ । हामीकहाँ कम्प्यूटर एनेक्सको कक्षा सञ्चालनमा छ र आगामी वर्षदेखि सिभिल डिप्लोमाको कक्षा सञ्चालनको तयारीमा छौं ।


एउटा राम्रो सामुदायिक विद्यालय कसरी बन्दो रहेछ ?
राम्रो विद्यालय बनाउन विद्यालयका प्रधानाध्यापक नेतृत्वदायी मात्रै नभएर कुशल व्यवस्थापक हुनु पर्छ । विद्यालयलाई प्रशस्त समय दिने, निरन्तर खट्ने, राम्रो शैक्षिक एजेण्डा बनाउने, शिक्षकहरुसँग सहकार्य, समन्वय र सहजीकरण गर्न सक्ने, गुणस्तरीय सुधारका लागि शिक्षकहरुलाई प्रतिबद्ध गराउने, विद्यार्थीलाई बालमैत्री वातावरण बनाइदिनुका साथै समुदाय र अभिभावकहरुको विश्वास जित्न सक्ने प्रधानाध्यापक हुनु पर्छ । विद्यालय सुधार गर्न समाज, राजनीतिक कार्यकर्ता, स्थानीय तहलगायत सबैको सहयोग चाहिन्छ ।


प्रायः सामुदायिक विद्यालयका विव्यस पदाधिकारी, प्रअ, शिक्षक स्रोतको अभावमा सुधार गर्न नसकिएको गुनासो गर्छन् । स्रोतको व्यवस्थापन कसरी गर्नुपर्दो रहेछ ?
स्रोत भनेको जहाँ इच्छा त्यहाँ उपाय भनेको जस्तै हो । हामीले चहुरमा बच्चा पढाएर चन्दाबाट १९ कोठाको भवन बनाएका हौं । देश/विदेशमा सहयोगका लागि गुहार मागियोे । शान्ति मन्त्रालय, जर्मनी, युनेस्को अन्य सरकारी निकायहरुबाट सहयोग जुटायौं । हामीले सहयोगकै भरमा नमूना म्याथमेटिक्स ल्याव बनाएका छौं । सहयोगका लागि चन्दा, घरदैलो त गरियो नै, तीनपटक धान्यञ्चल महायज्ञ ग¥यौं । महायज्ञबाटै ११ र १२ कक्षा चलाएका हौं । तत्कालीन जिविस, नगरपालिका, शान्ति मन्त्रालय, जिशिकाबाट विभिन्न मर्मत, भवनलगायतका सहयोग ल्यायौं । दुईवटा ट्रस्ट ल्याएर विज्ञानको फिजिक्स, बायोलोजी र क्यमेस्ट्रीको ल्याब बनाउन सफल भयौं । सिटिइभिटिबाट कम्प्यूटर ल्यायौं । जर्मनहरुबाट कम्प्यूटर, कोरियनहरुबाट ल्यापटप सहयोग र लाइब्रेरी ल्यायौं । युनेस्कोबाट सहयोग ल्यायौं । सहयोग माग्ने ठाउँमा कतै छाडेनौं । यदि इच्छा भए सहयोग जुटाउन समस्या हुँदैन जस्तो लाग्छ । पैसाबिनै काम शुरु गरेका छौं र त्यही काम देखाएर हात थाप्दै सहयोग माग्दै पूरा गरेका छौं । यसै गरेर २० वर्षमा विद्यालयले भौतिक पूर्वाधारमा आमूल फड्को मार्न सफल भएको छ । हामी भौतिक रुपमा कुनै निजीभन्दा कम छैनौं । निजी स्रोतका शिक्षकहरुलाई सकेसम्म सरकारीसरह सुविधा, पोशाक भत्ता दिने गरिएको छ । अहिले शिक्षक, विद्यार्थी अभिभावक सबै खुशी हुनुहुन्छ । हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं । तीन वर्षभित्र भौतिक सुविधासम्पन्न बनाएर ५ वर्षभित्र मुलुकै नमूना शिक्षालय बनाएर छाड्छौं ।


भौतिक पक्षमा त विद्यालय अब्बल छ तर त्यतिले मात्रै भएन, सिकाइ स्तर सुधार्न के–के प्रयास गर्नुभएको छ ?
हामी सिकाइ सुधारमै केन्द्रित रहँदै आएका छौं । सबै शिक्षक साथीहरुलाई विज्ञबाट विषयगत शिक्षण तालिम दिइएको छ । विद्यार्थीलाई पढाइका अलावा अतिरिक्त क्रियाकलापमा सहभागी गराइन्छ । उनीहरु त्यसमा पनि अब्बल छन् । पुरस्कृत भइरहेका छन् । शिक्षकहरुको संकाय र विषयगत छलफल गरेर शिक्षण योजना बनाउने गरेका छौं । नतिजा विश्लेषण गर्ने, २६/२७ ब्याज एसएलसी र एसइइ उतारीसकियो । सबैमा शतप्रतिशत नतिजा छ । १२/१५ व्याज ११ र १२ व्याज उतारिसकेका छौं । हामी गुणस्तरमा कुनै सम्झौता गदैनौं । गुणस्तरका लागि गुणस्तरीय शिक्षक चाहियो । शिक्षकहरुले प्रतिस्पर्धातमक रुपमा शिक्षण सिकाइ गर्नुप¥यो । क्रियाकलापमा आधारित, सूचना प्रविधिमा आधारित, शैक्षिक निर्माण गरेर शिक्षण सिकाइ गर्दै आएका छौं । हरेक पाठको उद्देश्य निर्धारण, शिक्षण योजना निर्माण, नतिजा विश्लेषण सोही आधारमा शैक्षिक सामग्री निर्माण गरेर शिक्षण सिकाइ गर्दै आएका छौं । कक्षा रमाइलो भए विद्यार्थीहरु अल्छि गर्दैनन् । हामी म्याथम्याटिक्स रेस वा दौडाएर गणित कक्षा लिन्छौं । गीत गाएर, नाचेर, चित्र देखाएर हुन्छ कि अडियो÷भिडियो देखाएर सुनाएर हुन्छ, कसरी हुन्छ शिक्षकहरुले आफ्नो विषयमा प्रतिस्पर्धात्मक नतिजाका लागि शिक्षण गर्नु हुन्छ । हरेक विषयमा जान्ने र नजान्ने विद्यार्थीको समूह विभाजन गरेर पढाइन्छ । वार्षिक योजना बनाएर कार्यान्वयन, हरेक शनिबार परीक्षा गरेर अभिभावकलाई उत्तरपुस्तिका पठाउने, सुधारात्मक कक्षा सञ्चालन गर्ने र दिनदिनैको विद्यार्थीको उपस्थिति हेर्ने गर्छौं । एउटा प्रणालीमा विद्यालय सञ्चालन गरिएको छ । म भएपनि नभएपनि एउटा प्रणलीले विद्यालय सञ्चालन भइरहन्छ । विद्यालय अटोमोवाइल जस्तै चल्नु पर्छ । कसैले आदेश दिने होइन समझदारीमा योजनाबद्ध अघि बढ्ने हो । हामी गुरु योजना बनाएर यस विद्यालयलाई बृहत् शिक्षालयको रुपमा विकास गर्दैछौं । होस्टेल बनाउँदैछौं । बसहरु किन्दैछौं ।

तिलिङ्गाटारबाट अन्य विद्यालयहरुले के सिक्ने ?
यस विद्यालयमा अनुगमन गर्न केही नयाँ कुरा सिक्न भन्दै देश÷विदेशबाट निरन्तर भ्रमणहरु हुने गरेको छ । गरे सम्भव छ । सुधार गरे शिक्षकले नै गर्ने हो । हामीले १५ वर्ष मिहिनेत गरेपछि मात्रै राम्रो नतिजा दिन सकेका हौं । अहिले ठूला–ठूला निजी विद्यालय छाडेर यहाँ विद्यार्थी आउन थालेका छन् । गर्न चाहेमा र खोजेमा परिवर्तन हुन्छ । बहाना छाडेर चाहना बढाउनु पर्छ । सामुदायिक विद्यालयमा भर्ना नपाए बल्ल निजीमा जाने वातावरण हामीले नै बनाउने हो । यो असम्भव छैन । हामीले गरेर देखाएका छौं ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर हुनुको कारण केलाई मान्नुहुन्छ ?
सरकारले निःशुल्क भनिदिनु नै पहिलो कारण हो । कहीं न कहीं राज्यको लगानी छ । निःशुल्क शिक्षा हुनै सक्दैन, कसले तिर्ने भन्ने मात्रै हो । सक्नेले तिर्नु पर्छ । राज्यको नीति नै कमजोर भयो । सक्नेसँग लिने र नसक्नेलाई मात्रै निःशुल्क भनिदिनु पर्छ । गुणस्तर दियो भने धेरै विद्यार्थी हुन्छन् । दुःख हुन्छ भनेर शिक्षकहरुले मिहिनेत गरेर नपढाएको पनि देखिन्छ । दोषी शिक्षक पनि हो । विद्यालयमा पढाउने र शिक्षकले ट्युसनमा पढाउनेमा भिन्नता पाइन्छ । शिक्षकले राम्रो पढाइदिने हो भने सामुदायिक पहिलो रोजाइको हुन्छ । धेरै सुविधा छ । माथिल्लो तहमा पनि अवसर छ, आकर्षण सामुदायिक विद्यालय हुनुपर्ने हो । समाजले पनि पहिलो प्राथमिकता सामुदायिक विद्यालयलाई दिनुप¥यो । निजीमा पढाउनु प्रतिष्ठाको विषय बन्नु हुँदैन । शिक्षकहरु समयसापेक्ष सुधार नहुने, सूचना प्रविधिमैत्री नहुनु, किताबमा मात्रै आधारित हुने, शैक्षिक सामग्री प्रयोग नगर्ने प्रवृत्तिमा सुधार आउन जरुरी छ । शौचालय, खानेपानीको सुविधा नहुने समस्या सुधार हुनु पर्छ । नगरेरै हो । गरे सम्भव छ । जागिर मात्रै नभनेर जिम्मेवारी बोध गर्दै अहिलेसम्मको गल्ति–कमजोरी स्वीकार्दै त्यसलाई सुधार गर्नतर्फ लाग्नुपर्छ । राज्यले पनि नीतिगत सुधार गर्नु पर्छ । पर्याप्त शिक्षक र भौतिक पूर्वाधार दिनु पर्छ । अनि सामुदायिक विद्यालयहरु अब्बल बन्छन् ।

 

 

 

प्रमुख समाचार

दरबन्दी मिलान अन्तिम चरणमा दरबन्दी मिलान अन्तिम चरणमा

स्थानीय तहमा पालिकागत शिक्षक दरबन्दी किटान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय तहका मौजुदा शिक्षक दरबन्दी कहाँ कति थप्ने र घटाउने भन्ने न ...

संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी संघीय शिक्षा ऐन छिटो नल्याए विद्यालयक्षेत्र विकास कार्यक्रम धरापमा पर्ने दाताहरुको चेतावनी

शिक्षामा सहयोग गरिरहेका विकास साझेदारहरु (डिपिज) ले नेपाल सरकारलाई संघीय शिक्षा ऐन चाँडो नल्याउने हो भने स्थानीय तहसम्म विद्यालय क्षेत्र विकास कार्यक् ...

शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता शिक्षक महासंघले गठन भएको ६ वर्ष बित्दा पनि पाएन पूर्णता

विभिन्न टुक्रामा विभाजित बन्दा शिक्षक आन्दोलन कमजोर भएको भन्दै एकीकृत रुपमा शिक्षकको अधिकार र कर्तव्यको पक्षमा संघर्ष गर्ने उद्देश्यले गठित नेपाल शिक ...